ठोरीमा पर्ने नेपाल भारत सीमाको ४३८ नम्बर पिल्लर बर्षौ देखि ढुङ्गाकै भरमा
वीरगंज । पर्साको ठोरी र भारतको भिखनाठोरीको विचमा पर्ने नेपाल भारत सीमाको ४३८ नम्बर पिल्लर बर्षौ देखि ढुङ्गाकै भरमा रहेको छ ।
ठोरीमा सीमा विवादको कारण बेला बेलामा नेपाल र भारतीय पक्ष बिच झडप समेत हुँदै आएको अवस्थामा बर्षौ देखि ढुङ्गाकै भरमा रहेको पिलरको कारण आगामी दिनमा फेरि विवाद हुन सक्ने खतरा बढेको ठोरीका समाजसेवी प्रकाश खनालले बताउनु भयो ।
मधेश प्रदेशको अन्तिम गन्तव्य रहेको ठोरी क्षेत्रमा पर्ने नेपाल भारत सिमाना रहेको ४३८ नम्बर पिल्लर बर्षौ देखि हराएको र अहिले दुवै देशको सुरक्षाकर्मीले ढुङ्गा राखेर त्यसैलाई पिल्लर मानेर सीमा सुरक्षा दिँदै आएको पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषालले बताउनु भयो ।

पिल्लर हराएपछि दुई देशको सुरक्षा निकायहरूको सहमतिमा बर्षौ अगाडी राखिएको ढुङ्गालाई सीमा स्तम्भ मानिँदै आएको र सशस्त्र प्रहरीले सोही आधारमा त्यस क्षेत्रमा सीमा सुरक्षा दिँदै आएको सशस्त्र प्रहरी बल पर्साका प्रमुख राधेश्याम धिमालले बताउनु भयो ।
पक्की सीमा स्तम्भ निर्माण गर्दा दुई देश बिच उच्च स्तरको सहमति हुनु पर्ने बताउँदै पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषालले सीमा सम्बन्धी नेपाल भारत बिच उच्च स्तरको बैठकले निर्णय गरेपछि त्यहाँ आफूहरूले पक्की सीमा स्तम्भ बनाउने बताउनु भयो ।
यस सम्बन्धमा गृह मन्त्रालय हुँदै माथिल्लो निकायलाई जानकारी गराई सकिएको र अहिले दुवै देशका सुरक्षाकर्मीले निरन्तर रुपमा सोही ढुङ्गालाई सीमा स्तम्भ माथि नियमित रुपमा संरक्षण र अनुगमन गर्दै आएको प्रमुख जिल्ला अधिकारी भुषालले बताउनु भयो ।
अहिले भएकोलाई हटाउन पनि नदिने र हराउन पनि नदिने नीति दुवै देशका सुरक्षाकर्मीको रहेको हुँदा उच्च स्तरीय समितिले निर्णय गरेपछि मात्रै सीमा स्तम्भको पुर्न स्थापना गर्न सकिने भुषालले बताउनु भयो ।
पर्सा जिल्लामा ठोरीको ठुटे खोला र महादेवपट्टिको ओरिया खोलामा सीमा स्तम्भ बाढीले बगाउँदा हराएका सीमा स्तम्भहरूको बर्षौ देखि पुनर्स्थापना गर्न नसक्दा बेला बेलामा दुई देशका नागरिक बिच विवाद हुँदै आएको छ ।







प्रतिक्रिया राख्नुहोस्