तपाईँ सुन्दै हुनुहुन्छः

भेनेजुएलाका निर्वाचन अधिकारीद्वारा ‘अनियमितता’ को निन्दा

काराकस। भेनेजुएलाको राष्ट्रिय निर्वाचन परिषद् (सिएनई) का एक मात्र विपक्षी सदस्यले सोमबार गत महिना राष्ट्रपति निकोलस मदुरोको पुनःनिर्वाचनमा भएको ‘अनियमितता’ लाई औँल्याएका छन् । 

“राष्ट्रपति निर्वाचनअघि, निर्वाचनका क्रममा र पछि भएका सबै कुराले घोषित परिणामहरूको पारदर्शिता र सत्यताको कमीको गम्भीरतालाई देखाउँछ”, जुआन कार्लोस डेलपिनोले सामाजिक सञ्जालमा एक विज्ञप्ति पोस्ट गर्दै भन्नुभयो । 

विपक्षीले निर्वाचन जितेकामा जोड दिएका छन् भने संयुक्त राज्य अमेरिका, युरोपेली सङ्घ (इयु) र धेरै ल्याटिन अमेरिकी मुलुकहरूले मदुरोको जितलाई मान्यता दिन अस्वीकार गरेका छन् । 

लुकेर बस्नुभएका डेलपिनोले भन्नुभयो, “सन् २०२४ जुलाई २८ को निर्वाचन प्रक्रियामा भएका अनियमितताहरू र निर्वाचनको दिनभन्दा अघि र पछि आएका कठिनाइका कारण प्रक्रियाको निष्ठा र घोषित परिणाममाथिको विश्वास गुमेको छ ।”

उहाँले मतदान केन्द्रहरूबाट परिणामहरूको प्रसारण अवरोधलाई सङ्केत गर्नुभयो । अधिकारीहरूले अवरोधका लागि साइबर आक्रमणलाई दोष दिएका छन् । 

सिएनई परिषद्का पाँच सदस्यमध्ये एक डेलपिनोले मतदान समाप्त भएपछि विपक्षी पर्यवेक्षकहरूलाई मतदान केन्द्रहरूबाट निष्कासित गरिएको बताउनुभयो । 

भेनेजुएलाको सर्वोच्च अदालतले बिहीबार तेस्रो छ वर्षको कार्यकालका लागि मदुरोको पुनर्निर्वाचनलाई प्रमाणित गरेको थियो । सर्वोच्च अदालतलाई मदुरोप्रति वफादार मानिन्छ ।

ह्याकरहरूले तथ्याङ्कलाई दूषित गरेको भन्दै सिएनईले विस्तृत परिणाम प्रकाशित गर्ने मागलाई अस्वीकार गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button