तपाईँ सुन्दै हुनुहुन्छः

पोखरामा रैथाने हाटबजार सुरु

पोखरा । पर्यटकीय राजधानीका रुपमा परिचित पोखरामा रैथाने हाटबजार सुरु गरिएको छ ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले आज एक समारोहबीच हाटबजारको उद्घाटन गर्नुभयो ।

पोखराको सिद्धार्थ चोकमा रहेको श्री कम्प्लेक्समा सुरु गरिएको रैथाने हाटबजारमा फलफूल, तरकारी तथा स्थानीय रैथाने जातका उत्पादन बिक्री वितरणमा राखिने छ ।

पोखरा महानगरपालिका–१९ का वासुदेव तिवारीले आफूले विशेषगरी ताजा किवी बिक्री वितरणका लागि हाटबजारमा लगेको बताउँदै किवीबाट उत्पादित माडा, तितौरा, जाम र अन्य परिकारहरू समेत बिक्री वितरणका लागि तयार गरेको बताउनुभयो । उहाँले यसबाट स्थानीय रैथाने उत्पादनले बजार पाउने र आफूजस्ता थुप्रै कृषकको आर्थिक विकासमा मद्दत पुग्ने विश्वास पनि व्यक्त गर्नुभयो ।

यस्तै पोखरा पुम्दीभुम्दीका किसान घनश्याम पोखरेलले आफूहरूले बजारमा कोदो र फापरका साथै तिनका परिकारहरू बिक्री वितरणका लागि तयार गरेको बताउनुभयो । कृषक पोखरेलले मिहिनेत गर्न सके आफ्नै गाउँठाउँमा बसेर पनि राम्रो आम्दानी गर्न सकिन्छ भन्ने सन्देश आम युवामा पुर्‍याउनु जरुरी रहेको र त्यसका लागि पनि आफूहरू रैथाने हाटबजारलाई सफल बनाउन लागिपर्ने बताउनुभयो ।

पोखरा महानगरपालिकाको समन्वय तथा श्री कम्प्लेक्सको साझेदारीमा अबदेखि त्यहाँबाट विभिन्न स्टलको माध्यमबाट स्थानीय उत्पादन दैनिक बिक्री वितरण गरिनुका साथै हरेक शनिबार हाटबजारका रुपमा सञ्चालन गरिने श्री कम्प्लेक्सका अध्यक्ष झलक श्रेष्ठले जानकारी दिनुभयो । अध्यक्ष श्रेष्ठले पोखरा पर्यटकीय नगरी समेत भएकाले यसबाट नेपालको रैथाने उत्पादनको बजारीकरणमा समेत मद्दत पुग्ने बताउनुभयो ।

स्थानीय स्तरमा स्वरोजगारको अवसर सिर्जना गरी आत्मनिर्भर बनाउने तथा स्वच्छ र स्वास्थ्यवर्धक उत्पादनलाई प्रोत्साहन गर्न रैथाने हाटबजारको सुरुवात गरिएको र आगामी दिनमा यस्ता कार्यक्रमलाई अझ बढी महत्वका साथ अगाडि बढाइने पोखरा महानगरपालिकाको आर्थिक विकाश तथा कृषि महाशाखाका प्रमुख मनहर कडरियाले बताउनुभयो ।

तस्वीर सौजन्यः झलक श्रेष्ठ

प्रतिक्रिया राख्नुहोस्

Back to top button