तपाईँ सुन्दै हुनुहुन्छः

मध्यपुरथिमिमा  महाकाली नाचको रौनक

भक्तपुर । मध्यपुरथिमि नगरपालिका क्षेत्रमा परम्परागत बाजा र देवीदेवताको नाच प्रदर्शन भइरहेको छ । गाईजात्राको भोलीपल्ट द्वितीयादेखि पञ्चमी अर्थात् आज रातिसम्म तीन दिन र चार रात टोलटोलमा विभिन्न देवी देवताका मुकुन्डो धारण गरेको हातमा विभिन्न देवी देवताले बोक्ने हतियार बोकेर नील वाराही, भैरव र महाकाली विभिन्न देवी देवताका प्रतीक देवगणका नाचिरहेका छन् ।

सदियौँदेखि चल्दै आएको यी जात्रा एवं नाचहरू कहिले र कसको पालादेखि सञ्चालनमा आयो भन्ने यकिन तथ्य नभेटिए पनि पुर्खादेखि तान्त्रिक शक्ति र दस्ताबेजका आधारमा मन्त्र एवं तन्त्रको आधारमा दैवी शक्तिलाई ऊर्जावान् बनाइ नाचिँदै आएको छ ।

मध्यपुरथिमिमा नाचिन नील वाराही नाच देशमा जस्तोसुकै सङ्कट आउँदा पनि नरोकिएको र पुस्तौँदेखि पुस्तान्तरण हँुदै चल्दै आएको भए पनि भैरव तथा महाकाली नाच भने धेरै वर्ष रोकिँदै पुन चल्दै आएका छन् । यद्यपि केही वर्षयता भने यी नाचले पनि निरन्तरता भने पाइरहेका छन् ।

परापूर्वकालमा भूत, प्रेत, पिचासलगायतका राक्षसी शक्तिले यहाँका बासिन्दालाई दैनिक दुःख दिने, मार्ने, खाने गरेपछि दैवी शक्तिलाई उजागर गरेर तान्त्रिकले तन्त्र विद्याद्वारा मध्यपुरथिमि भित्रका तीन देश अर्थात्, बोडे, नगदेश र थिमिमा यी नाचहरू नचाउन थालेपछि भूत, प्रेत, पिसाचहरू आउन छाडेको र यहाँका बासिन्दा सुरक्षित रहेको किम्बदन्ती रहँदै आएको छ । दैवी शक्तिको आधारमा नाचिनै आएका यी नाचहरू बोडे देशमा नील वाराही, नगदेशमा महाकाली र थिमिमा भैल अर्थात् भैरव नाच प्रदर्शन गरिने गरिन्छ । 

ठूलो शक्ति पीठको रुपमा मानिने मध्यपुरथिमिको बोडेको प्रसिद्ध नीलबाराही मन्दिरलाई आधार मान्दै अनवरत रुपमा युगौँदेखि चल्दै आएको नीलबाराही नाचले रात बिहान केही नभनी बोडेबासीलाई जगाइ रहेको छ । 

बोडेमा भाद्र द्वितीयादेखि पञ्चमीसम्म नीलबाराही नाच चार दिन तीन रातसम्म यहाँको टोल टोलमा प्रदर्शन गर्ने गरिन्छ । नाचमा भैरव एक, वाराही चार, कुमारी चार, सिंह चार द्वारपाल दुई र गणेश चार गरी १९ देवगणले नाच नाच्ने गर्दछन् । देवता १९ जना, गुरु ६ जना, १९ जना देवताका सहयोगी, बाजा बजाउने ९ जनाको नाचमा प्रत्यक्ष संलग्नता रहने गर्दछ । 

बोडेको लाकुछेँ अर्थात् देवता घरबाट सुरु भई लाछी, लाछकु छेँ, विष्णुघाट, महालक्ष्मी थान, भाँगुटोल, खासी टोल, नीलबाराही स्थान हुँदै पुन ः खासी टोल भएर लाकुछेंमा आएर मुकुन्डो निकाले पछि समापन हुने स्थानीय दिलकृष्ण प्रजापतिले जानकारी दिनु भयो । प्रत्येक टोलको चोकमा धाँ बाजा, भुस्या, काँय, पाँगा बाजाको तालमा परम्परागत नीलबाराही देवीको नाच देखाउने र यहाँका बासिन्दाले पूजा एवं दान दक्षिणा दिने परम्परा रहेको उहाँले बताउनुभयो । 

दैनिक १० देखि १४ घन्टासम्म परम्परागत नियममा बाँधिएर नाच्नु पर्ने नीलवाराही नाच कहिलेदेखि सुरु भएको भत्रेबारे यकिन तथ्य फेला नपरे पनि भक्तपुरको नवदुर्गा नाचसँगै नीलबाराही नाच सुरु भएको हुनुपर्ने मध्यपुरथिमि नगरपालिकाका वडा नं। ८ का वडाध्यक्ष एवं नीलबाराही नाचका संरक्षक रमेश थापा श्रेष्ठले  बताउनुभयो । 

विगत २६ वर्षदेखि पोङ्गा पूजामा सहभागी हुँदै आउनु भएका ४५ वर्षीय रोमन धों श्रेष्ठ आफ्नो पुर्खाको आठ पुस्ता अगाडिदेखि नील वाराही नाचमा सहभागिता रहँदै आएको बताउँदै उहाँले देवगण फेरिँदा पनि पोङ्गा पूजाको कोटा नफेरिने बताउनु हुन्छ । नाचमा सहभागी हुने देवगणको मृत्यु भएमा वा नीलबाराही देवीको दैवी शक्तिले बाहेक अरू अवस्थामा देवगण फेर्न नपाइने प्रचलन छ । 

नाच अवधिभर देवगणले खान हुँदैन , भुईँमा बस्न हुँदैन, कसैसँग बोल्न हुँदैन, घामपानीमा छाता ओड्न हदैन, दिशा पिसाब गर्न हुँदैन र जुत्तासमेत लगाउन हुँदैन, नाच नाच्नेहरूले निकै कडा नियमको पालना गर्नु पर्छ । देवगणले मुकुन्डो लाएर घण्टौँसम्म टोलटोल घुमेर नियमित नाच्नुपर्छ, गाह्रो भए पनि कहिँ बस्न पाइँदैन, बस्नै परे पनि ज्वकालु (सहयोगी) को काखमा या जिउमा अडेस लगाएर बस्नुपर्छ । 

त्रिनाचको अगाडि र पछाडि बाल्ने चिराग पनि निभ्नु हुँदैन । बत्ती निभ्यो भने देवता हुनेको पेट दुख्ने तथा बान्ता आउँछ भन्ने जनविश्वास अझै रहेको छ । जात्रामा काटमार समेत गर्नु हुँदैन । परम्परागत नियमभन्दा बाहिर गए बोडेवासीलाई अनिष्ट हुने जनविश्वास अझै रहेको छ । नाच अवधिभर राती टोलटोलमा नाच्ने र बिहानदेखि पूजा गर्नेको भीड लाग्छ । 

मल्लकालदेखि सुरु भएर प्रत्येक वर्ष मध्यपुर थिमिमा गाईजात्राको भोलिपल्टदेखि लगातार चाररात मनाइने प्रसिद्ध ऐतिहासिक एवं तान्त्रिक शक्ति बोकेको भैरबनाचले यतिखेर मध्यपुरथिमिमा रौनकता थपेको छ ।

मध्यपुरथिमि‐५ ताहनानीबाट यसवर्ष निकालिएको भैरव नाच अर्थात् भैल प्याँख भाद्र कृष्ण द्वितीया (गुँलागा द्वितीया) देखि पञ्चमीसम्म चार रात मध्यपुरथिमि क्षेत्रभर नचाईएको छ । थिमि भैलः प्याखँमा न्हापाँ भैल (अघिल्लो भैरव) एक, लिपाँ भैल (पछिल्लो भैरव) एक, ज्यापुंगः एक, न्हापाँ दागीँ (अघिल्लो दागीँ) एक र लिपाँ दागीँ (पछिल्लो दागीँ) एक जना गरी कुल पाँच जना देवीदेवता रहन्छ ।

यसवर्ष थिमि भैलः प्याखँमा कृशल प्रजापतिले ज्यापुंग, अशोक प्रजापतिले न्हापा भैलः, बालमुकुन्द प्रजापतिले लिपा भैलः, आयुष प्रजापतिले न्हापाँ दाँगी, साहिल प्रजापतिले लिपा दाँगीको भूमिका निर्वाह गरिहनुभएको छ ।

धाँ बाजा, भुस्या, मुवाली र पुँगा बाजाको तालमा तहाननी द्यः छें बाट सुरु भएको भैल प्याँख  थिमिको विभिन्न टोलमा नचाईएको र हरेक दिन राती ९ बजेपछि सुरु भई रातभर नाच्ने थिमि भैलः ताहननी व्यवस्थापन समितिका उपाध्यक्ष बलराम प्रजापतिले बताउनुभयो ।

यसैगरी मध्यपुरथिमि‐७ नगदेशमा पाँच वर्षपछि परम्परागत एवम् मौलिक महाकाली प्याखँ (नाच) प्रदर्शन भएको छ । कूल १६ देवीदेवता रहने यस नाचमा महाकाली १, महादेवी १, महालक्ष्मी १, देवी १, वेताल ४, भुत भैरव २, कवाँ २, ख्याक २, माक २, सिंह १ रहन्छन् ।

यसवर्ष महाकालीको भूमिकामा प्रनिश ज्यापु, महादेवीमा अविरल कोजु, महालक्ष्मीमा बिक्की डङ्गोल, सिंहमा रोनित तको, बेतालमा अविन कालु, शैलेश ज्यापु, रोनप बाडे र विप्लप साझ्या, भूत भैरवमा निरोज बाडे र दिपेश बाडे, कवाँमा एरिन अवाल र क्षितिज बाडे, ख्याकमा रोजिन सलाजू र रिदेश तको, माकमा अभियान तको र अविक अवालले देवगण बनेर महाकालीमा मुहाली बाजा, नायखिँ, धाँ बाजा, तः, मृदङ, भुस्याय्, छुस्याय्लगायतको बाजाको संयुक्त तालमा नाचिरहेका छन् । 

मध्यपुरथिमिलाई भुतप्रेत, पिचाश र दानवी शक्तिबाट जोगाउन यस्ता परम्परागत धार्मिक आस्था बोकेको महाकाली, भैलः (भैरव), लाय्कु भैलः प्याखँ प्रत्येक वर्षको परम्परा शुरु भएको भैल नाचका गुरु अर्जनु श्रेष्ठ बताउनुहुन्छ । नाच हेर्न काठमाडौं उपत्यका र काभे्रबाटसमेत आउने गरेका छन् । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button