तपाईँ सुन्दै हुनुहुन्छः

धानबालीमा रोगको प्रकोप, किसान चिन्तित

वीरगञ्ज । वर्षा र डुबानसँगै पर्सामा यस वर्ष धानखेतीमा विभिन्न रोग र किराहरूको प्रकोप बढ्दै गएको छ । समयमा रासायनिक मल नपाउने समस्याले चिन्तित किसान अहिले धानबालीमा लागिरहेको रोगका कारण चिन्तित बनेका छन् ।

पर्साको ठोरी, जिराभवानी, जगरनाथपुर, पटेर्वासुगौली, सखुवाप्रसौनी गाउँपालिका सहित पर्सागढी,पोखरीया, बहुदरमाई नगरपालिका क्षेत्रमा लगाइएको धानबालीमा रोगको प्रकोप देखा परेको किसानहरुले बताएका छन् ।

विशेष गरी सोना मंसुली, भदई मंसुली, मनी मंसुली तथा हर्दिनाथ–१ जातका बालीमा रोगको प्रकोप देखा परेको छ ।

जिराभवानी गाउँपालिका–३ नौकाटोलाका किसान रामायण महतोले धानको गुभामा रोग लाग्दा जरा कुहिने समस्या बढ्दै गएसँगै बोट नै मर्ने गरेको छ । कृषि विज्ञहरूले यो रोग सिथ ब्लाइट भएको बताएका छन् ।

अघिल्लो वर्षसम्ममा यो रोग सोना मंसुली जातको बालीमा लाग्ने गरेको भए पनि यस पटक अन्य प्रजातीको धान बालीमा समेत यस्तो रोगको प्रकोप देखिएको किसान महतोले बताउनुभयो ।

कृषि विज्ञको सुझाव अनुसार रोकथामका लागि किटनाशक औषधी छरे पनि प्रकोपमा कमी नआएको गुनासो महतोको छ ।

सारो तथा हर्दिनाथ –१ जातको धानबालीमा पनि रोग लागेर धानको टुप्पो सुक्न थालेको जगरनाथपुर गाउँपालिका–३ का किसान गुलाब प्रसाद यादवले बताउनुभयो । बिरुवा हरियो भएपनि बाला निस्किने भाग नै सुकेपछि बाली नै नष्ट हुने समस्याले बढ्दै गएको यादवले जानकारी दिँदै रोपाई भएको दुई साता नबित्दै बालीमा रोग लाग्न थालेपछि किसानहरू चिन्तित भएको बताउनुभयो ।

ठोरी गाउँपालिका–५ गडुवालाइनका किसान देवी प्रसाद दाहालले कहिल्यै नदेखिएको यो रोग देखिएपछि आफूहरूले कृषि विज्ञको सल्लाहमा किटनाशक औषधीको प्रयोग गरेको र हाल केही हदसम्म रोग नियन्त्रणमा आएको बताउनुभयो । कृषि प्राविधिकहरूले यो रोगको समयमै उपचार गरेमा नियन्त्रणमा आउने बताएका छन् ।

जिराभवानी गाउँपालिकाका कृषि प्राविधिक क्षत्रबहादुर गुप्ताले सो रोगको किटनाशक औषधी समयमा दुई पटकसम्म छर्दा प्रकोप हट्ने दाबी गर्नुभयो । औषधिसँगै धान बालीभित्र रहेको झारपात समय समयमा हटाउने, बालीमा निरन्तर पानी नपटाउने र समय समयमा जमिन सुख्खा राख्नु पर्नेतर्फ ध्यान दिन जरुरी रहेको गुप्ताले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button