तपाईँ सुन्दै हुनुहुन्छः

पाकिस्तानमा प्रहरीमाथि भएको रकेट आक्रमणमा १२ जनाको मृत्यु

लाहोर पाकिस्तान । मध्य पाकिस्तानमा बिहीबार प्रहरीमाथि भएको रकेट आक्रमणमा मृत्यु हुनेको सङ्ख्या १२ पुगेको प्रहरीले शुक्रबार जनाएको छ । 

दक्षिणी सिन्ध र मध्य पन्जाब प्रान्तका नदी किनारमा दशकौँदेखि सङ्गठित अपराधका गिरोहहरू सक्रिय छन् । 

“आक्रमणमा कम्तीमा बाह्र जना प्रहरी मारिएका छन् भने अन्य आठ जना घाइते भएका छन्,” प्रहरी प्रवक्ता सैफ अली वेन्सले बताउनुभयो ।

पन्जाब प्रान्तको रहिम यार खान जिल्ला हुँदै बिहीबार साँझ करिब २२ जना प्रहरी सवार दुईवटा प्रहरी गाडीहरू यात्रा गरिरहेका थिए जसमध्ये एउटा भ्यान बाढीमा फसेको हो । 

आपराधिक गिरोहले फसेका अधिकारीहरूलाई लक्षित गरी रकेट आक्रमण गरेको वेन्सले बताउनुभयो । 

आक्रमणको मुख्य अपराधी रातको कारबाहीमा मारिएको शुक्रबार प्रहरीले जारी गरेको एक विज्ञप्तिमा उल्लेख छ ।  

“अपराधीहरूको पहिचान नभएसम्म अभियान जारी रहनेछ,” विज्ञप्तिमा भनिएको छ । 

सेनाले सन् १९९० को दशकको सुरुमा सिन्धमा आपराधिक गिरोहविरुद्ध सशक्त कारबाही सुरु गरेको थियो ।  तर त्यसपछिको सरकारले प्रान्तमा कानुन र व्यवस्था कायम गर्न असफल भएपछि उनीहरू फेरी सक्रिय भएका छन् ।  

प्रधानमन्त्री शाहबाज सरिफले आक्रमणकारी विरुद्ध ‘तत्काल र प्रभावकारी कारबाही’ गर्न आदेश दिनुभएको छ । रासस/एएफपी

प्रतिक्रिया राख्नुहोस्

Back to top button