सबै भाषाभाषीहरूलाई सम्मान गरेमा प्रत्येक भाषाको संरक्षण र समुत्थान सम्भव हुने: राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सबै भाषाभाषीहरूले सबै भाषाभाषीहरूलाई सम्मान, सहयोग र समन्वय कायम गरेमा प्रत्येक भाषाको संरक्षण र समुत्थान सम्भव हुने विचार व्यक्त गर्नुभएको छ ।
जयतु संस्कृतमा संस्थाद्वारा शीतल निवासमा शुक्रबार आयोजित पुरस्कार वितरण कार्यक्रममा उहाँले सो धारणा व्यक्त गर्नुभएको हो ।

“कुनै भाषाले कुनै भाषालाई निषेध गर्नुहुँदैन, सबै भाषाभाषीहरूले सबै भाषा भाषीहरूलाई सम्मान, सहयोग र समन्वय कायम गरेमा प्रत्येक भाषाको संरक्षण र समुत्थान सम्भव छ”, उहाँले भन्नुभयो ।
आज संस्कृतको लोकप्रियता नेपाल र भारतमा मात्र नभएर विश्वमा नै बढ्दै गएको पाइन्छ भन्दै उहाँले विश्वका विभिन्न विश्वविद्यालयमा संस्कृत वाङ्मयको पठनपाठन हुनुले यसको महत्वलाई दर्साउँछ भन्नुभयो ।
उहाँले यो अमृत भाषा हो भन्दै यसभित्र अमर सन्देशहरू छन् जसबाट अहिलेपनि हामीहरू आल्हादिन भइरहेका छौ भन्नुभयो ।
“संस्कृत भाषा र संस्कृत वाङ्मय ज्ञान विज्ञानको भण्डार हो, यो भाषा र वाङ्मयको विस्तार आवश्यक छ”, राष्ट्रपति पौडेलले भन्नुभयो । शुक्ल यजुर्वेदलगायतका कैयौँ ग्रन्थ नेपालमै लेखिएका थिए भन्ने अनुसन्धाताको विचार पाइन्छ भन्दै उहाँले वेद व्यास, वाल्मीकि, विश्वामित्रजस्ता कयौँ ऋषिहरूको तपो भूमि पनि नेपाल हो भन्नुभयो ।

२००४ सालमा बोल्न, लेख्न र सङ्गठन गर्न नपाउने जनविरोधी एकतन्त्रीय राणा शासनको युगमा संस्कृत अध्ययन गर्ने छात्रहरूले काठमाडौँमा सशक्त आन्दोलन गरेर राणा सरकारलाई झुक्न बाध्य बनाएको प्रसङ्ग उल्लेख गर्दै उहाँले भन्नुभयो,“जयतु संस्कृतम् आन्दोलनले नै स्वतन्त्रताको बिगुल फुकेको थियो र प्रजातन्त्रको बीजारोपण गरेको थियो, नेपालमा प्रजातन्त्रको स्थापनामा जयतु संस्कृतम आन्दोलनको ठूलो योगदान छ ।”
संस्कृतमा वसुधैव कुटुम्बकम् भनेर विश्वबन्धुत्वको भावना, लोकाः समस्ता सुखिनो भवन्तु भनेर विश्व मानव समुदायको कल्याणको कामना र सर्वे भवन्तु सुखिनः भनेर मानव मात्रको सुख र समृद्धिको सङ्कल्प गरिएको पाइन्छ भन्दै उहाँले यी उदात्त भावना र विचारलाई हामीले मनन र प्रयोग गर्न सक्नुपर्छ भन्नुभयो ।
जयतु संस्कृतम् आन्दोलनको मूल प्रवाहमै रहेर अभियानस्वरुप थालिएको यस संस्थाले संस्कृतका ग्रन्थहरूको लेखन र प्रकाशन, विद्वत्सम्मान, संस्कृत गुरुकुल र विद्यालयको संरक्षण र विकासमा कार्य गर्नु खुसीको विषय भएको उहाँको भनाइ थियो ।
सो अवसरमा राष्ट्रपति पौडेलले प्राध्यापक नीलमणि ढुङ्गाना र आचार्य पूर्णचन्द्र ढुङ्गेललाई पुरस्कार प्रदान गर्नुभयो ।
साथै राष्ट्रपति पौडेलले प्राडा ऋषिराम पोखरेल, प्राडा दीर्घराज घिमिरे, प्राडा रामचन्द्र गौतम, प्राध्यापक गोविन्द चौधरी र प्राध्यापक चेतोनाथ आचार्यलाई अभिनन्दन गर्नुभयो ।
कार्यक्रममा सम्मानित व्यक्तित्व प्रा. डा. पूर्णचन्द्र ढुङ्गेल र प्रा. डा. ऋषिराम पोखरेलले संस्कृत भाषा र वाङमयको विकास र संरक्षणमा सरकारले ध्यान दिनुपर्ने बताउनुभयो ।
जयतु संस्कृतमका अध्यक्ष डा. बद्री पोखरेल, सदस्य सचिव प्रा. डा. नवराज कट्टेल र प्रा. डा. मुकुन्द लामिछानेले संस्कृत वाङमयको विकासमा जयतु संस्कृतमले महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्