६ बर्ष सम्म बनेन हुलाकी सडक : प्रधानमन्त्रीलाई पालिकाको ध्यानाकर्षण

नवलपरासी,पश्चिम् । साढे ६ किलो मिटर हुलाकी राजमार्ग निर्माणको काम ६ बर्ष सम्म पनि पूरा नभएपछि पश्चिम् नवलपरासीको प्रतापपुर गाउँपालिकाले संघीय सरकारलाई पत्राचार गर्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै सडक निर्माणको काम तत्काल अघि बढाउन माग गरेको छ ।
गोपिगञ्ज हुँदै बेलटारीसम्मको ६ दशमलव ५ किलोमिटर हुलाकी सडक ६ वर्ष हुँदा पनि सम्पन्न नभएपछि गाउँपालिकाले तत्काल कामलाई अगाडि बढाउन र काम गर्न नसक्ने हो भने गाउँपालिकालाई कार्यान्वयनको जिम्मा दिन समेत माग गरिएको छ ।सडक नबन्दा दुर्घटना हुने गरेको छ ।
गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवले संघ सरकारलाई पठाएको पत्रमा पालिकालाई सडक निर्माणको जिम्मेवारी दिएमा बाँकी काम ४ महिनामा सम्पन्न गर्ने प्रतिबद्धता ब्यक्त गरिएको छ ।”आयोजना सङ्घको भौगोलिक रुपमा क्षेत्र हाम्रो,दुख यहाँका जनताले पाए,हामी सँग कुनै समन्वय पनि छैन “कसको लापरबाही हो!सकिँदैन भने हामीलाई दिइयोस् निर्माणको जिम्मा,हामी ४ महिनामा सम्पन्न गर्दिन्छौ”अध्यक्ष उमेश यादवले भन्नू भयो ।
समयमा हुलाकी सडक निर्माण नभएपछि सम्बन्धित ठेकेदार कम्पनी,जनप्रतिनिधि र अन्य समन्वयकारी निकाय बिच पटक पटक जिल्ला प्रशासन कार्यालयमा छलफल र प्रतिबद्धता गरिएपनी कामले गति नलिएको गाउँपालिकाले जनाएको छ ।
ठेकेदार कम्पनी बज्रगुरु महालक्ष्मी र हुलाकी सडक निर्देशनालयसँग पटक-पटक समन्वय गर्दा पनि काम अगाडि नबढेको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले तत्काल पहलकदमी गर्न माग गरिएको छ ।
२०७९ सालमा निमार्ण सम्पन्न हुनुपर्ने सडक अहिलेसम्म पनि सम्पन्न नभएको भन्दै गाउँपालिकाले ध्यानाकर्षण गराएको हो ।कयौँ पटक घचघच्याए पनि ठेकेदार कम्पनीले सरकारी निकायकै आडबलमा कसैलाई टेर्ने नगरेको स्थानीय को भनाई छ ।
सडकको दुरावस्थाले तत्काल काम अगाडि नबढाएमा पालिका अध्यक्षको नेतृत्वमा अनसनमा बस्न बाध्य हुने ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।









प्रतिक्रिया राख्नुहोस्