तपाईँ सुन्दै हुनुहुन्छः

खेलकुद मन्त्रीद्वारा नेपालगञ्ज रंगशालाको सेन्थेटिक ट्रयाक तत्काल मर्मत गर्न निर्देशन

नेपालगञ्ज । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले नेपालगञ्ज रंगशालाको निरीक्षण गर्नुभएको छ । आज अपराह्न मन्त्री चौधरीले रंगशालाको निरीक्षण गर्नुभएको हो ।

नेपालगञ्ज रङ्गशालामा निर्मित सेन्थेटिक ट्रयाक उप्किएको समाचार सार्वजनिक भएपछि त्यसको अवस्था अवलोकन गर्न उहाँ रंगशाला आउनुभएको हो । त्यसक्रममा मन्त्री चौधरीले उप्किएको सेन्थेटिक ट्रयाक तत्काल मर्मत गर्न निर्माण कम्पनीलाई निर्देशन दिनुभएको छ । उहाँले हस्तान्तरण नहुँदै प्राविधिक कमजोरी देखिनु सुखद पक्ष नभएको भन्दै फेरि समस्या नहुने गरी तत्काल मर्मत गर्न निर्देशन दिनुभयो । मन्त्रीको निर्देशनपछि निर्माण कम्पनीका प्रतिनिधिले केही कमजोरी भएको स्वीकार गर्दै पानी परिरहेका बेलामा मर्मत गर्न नसकिने भएकाले घाम लागेर भित्रको भाग सुक्ने बित्तिकै मर्मत गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।  

‘सेन्थेटिक ट्रयाक’ उप्किएको समाचार सार्वजनिक भएपछि यस विषयमा अध्ययन गर्न राष्ट्रिय खेलकुद परिषद्ले राखेपका सदस्य समेत रहनुभएका नेपाली क्रिकेटका पूर्व राष्ट्रिय कप्तान एल.बी. क्षेत्रीको संयोजकत्वमा अध्ययन समिति गठन गरेको थियो । समितिले आजै मन्त्री चौधरीलाई प्रतिवेदन बुझाएको छ । अध्ययनका क्रममा समितिले सेन्थेटिक ट्र्याकमा निर्माण पक्षले प्राविधिकरुपमा केही त्रुटि गरेको औँल्याएको छ ।

राखेपले सेन्थेटिक ट्रयाक निर्माण गर्नका लागि निर्माण कम्पनी ‘पञ्चकन्या/सिनकुट जेभी’ ललितपुरलाई ९ करोड ८६ लाख ४० हजार ८ सय ३२ रुपैयाँमा ठेक्का दिएको थियो । सन् २०२३ मार्च २३ मा ठेक्का सम्झौता भएकोमा सन् २०२४ जनवरी ५ मा काम सम्पन्न गरिसक्नुपर्ने थियो । तर, ठेकेदार कम्पनीले गत असार मसान्तमा मात्र काम सम्पन्न गरेको थियो । निर्माण सम्पन्न भएको एक महिनामै उप्किएपछि सेन्थेटिक ट्रयाकको गुणस्तरमाथि प्रश्न उठिरहेको छ । यसैबीच आजै दिउँसो मन्त्री चौधरीले कोहलपुरस्थित प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानको पनि निरीक्षण गर्नुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button