‘प्रदेश सरकार, आत्मनिर्भर लुम्बिनीको लक्ष्य पुरा गर्न प्रतिबद्ध’
दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकार विकास, समृद्धि र सुशासन प्रवर्द्धनलाई केन्द्रमा राखेर समृद्ध प्रदेश, आत्मनिर्भर लुम्बिनीको लक्ष्य पुरा गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ ।

जनै पूर्णिमा (रक्षाबन्धन) को अवसरमा शुभकामना दिँदै मुख्यमन्त्री आचार्यले प्रदेशको विकास र समृद्धिको माध्यमबाट राष्ट्र निर्माणको महाअभियानलाई सफल बनाउन सकिने बताउनुभयो ।
सोमवार ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय एवम् राजयोग प्रशिक्षण केन्द्र, नेपाल शाखा कार्यालय लमहीमा रक्षाबन्धन कार्यक्रममा मुख्यमन्त्री आचार्यले सामाजिक सद्भाव र राष्ट्रिय एकताको लागि जनै पूर्णिमाले महत्वपूर्ण योगदान दिएको चर्चा गर्नुभयो । मुख्यमन्त्री आचार्यले आफु बिरामी पर्दा ब्रह्माकुमारी संस्थाको तर्फबाट साथ, सहयोग र सद्भाव पाएको धारणा राख्दै भावुक समेत हुनुभयो।
कार्यक्रममा लुम्बिनी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल लगायत उपस्थित हुनुहुन्थ्यो । ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय लमहीका प्रमुख इन्दिरा पन्तको अध्यक्षतामा भएको कार्यक्रम सम्पन्न भएको थियो ।







प्रतिक्रिया राख्नुहोस्