तपाईँ सुन्दै हुनुहुन्छः

तराई मधेश सहित मिथिलाञ्चलमा राखी पर्व मनाइँदै 

जनकपुरधाम । तराई मधेश सहित मिथिलाञ्चल क्षेत्रमा आज दिउँसोबाट रक्षाबन्धन पर्व मनाइँदै छ । 

प्रत्येक वर्ष श्रावण शुक्लपक्ष पूर्णिमा तिथिका दिन दिदी बहिनीले आफ्नो दाजु भाईको नाडीमा कलात्मक तथा रङ्गी चङ्गी राखी बाधेर मिठो खाने कुरा खुवाउने चलन रहेको छ । दाजु भाइले पनि आफ्नो गच्छ अनुसार नगद, कपडा तथा गरगहना प्रदान गर्ने प्रचलन रहेको छ । 

खास गरेर दाजुभाइको दीर्घायु, सुस्वास्थ्य तथा समृद्धिको कामना सहित दिदी बहिनीले राखी बाँध्ने चलन रहेको छ । दाजु भाइलाई दिदी बहिनीले राखी बाँधेको खण्डमा आफ्नो सुरक्षाका साथै आई परेको खण्डमा स्वाभिमानको रक्षा गर्ने गर्ने मान्यता रहेको छ । यस पटक राखी बाँध्ने साइत दुई बजे पछि परेकाले बिहानसम्म अधिकांश दाजु भाईको नाडी सुनसान देखिएका थिए । 

उता रक्षा बन्धनको अवसरमा जनकपुरधामको ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले सामूहिक रुपमा रक्षा बन्धन पर्वको आयोजना गरेका छन् । सेवा केन्द्रमा आउने सबै जनालाई सेवा केन्द्रका सञ्चालिका सृजना दिदी सहित अन्य दिदीहरूले राखी बाँधेका छन् । 

यस पटक ढिलो गरि राखी पर्व शुरु भएका कारणले दिउँसो १ बजेसम्म राखीको अत्यधिक बिक्री भएको छ । बेलुकासम्म राखी बाँध्ने क्रम जारी रहन्छ । यस पटक जनकपुरधाममा मात्र करोडौँको राखी बिक्री भएको छ । पाँचसय देखि २० रुपैयाँको राखीको बिक्री भएको स्थानीय व्यापारी सोनू साहले जानकारी दिएका छन् । 

रक्षा बन्धनमा मिष्टान्नको अत्यधिक बिक्री हुने भएकाले जनकपुरधामको प्रमुख मिष्ठान्न भण्डार सहित तराई मधेश एवं मिथिलाका गाउँ गाउँमा रहेका मिष्ठान्न पसलहरूमा हिजै देखि नै मिठाई किन्नेहरूको अत्यधिक भिड देखिएको छ । 

उता तागाधारी वर्गले जनै पूर्णिमा तथा ऋषितर्पणीको अवसरमा जनकपुरधामको गंगासागर, धनुषसागरमा स्नान गरेर पण्डित पुरोहितबाट जनै सहित रक्षा सूत्र धारण गरेका छन् ।  वेद मन्त्रद्वारा अभिमन्त्रित यज्ञोपवित जनै र रक्षासूत्र आफूभन्दा ठूला व्यक्ति र आचार्यको हातबाट लगाउने चलन रहेको छ । 

अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिलाई पूजा एवं तर्पण गर्ने भएकाले आजको दिनलाई ऋषितर्पणी पनि भन्ने गरिन्छ । गंगासागरमा बिहान देखि नै स्नान गर्नेहरुको अत्यधिक भिड रहेका थिए । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button