तपाईँ सुन्दै हुनुहुन्छः

डुडुवा खोलाको कटानले चौफेरी सहित दर्जनौँ गाउँ डुबानको उच्च जोखिममा

बाँके । बाँकेको डुडुवा खोलाको तीव्र कटानका कारण आसपासका गाउँहरू उच्च जोखिममा परेको छ । बाँकेको कोहलपुर नगरपालिका, नेपालगञ्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिकाका विभिन्न गाउँ र खेतीयोग्य जमिनको कटानका कारण गाउँ जोखिममा परेको हो । 

डुडुवा गाउँपालिका–१ कृषि चौफेरीबासीहरु डुडुवामा बाढी आउनासाथ घरभित्र कतिबेला पानी पस्ने हो, चिन्तामा पर्ने गरेका छन् । डुडुवा गाउँपालिका–१ का वडा अध्यक्ष पटेश्वर कुर्मीले कटानका कारण वडाभित्रका बस्तीहरू उच्च जोखिममा परेको बताउँदै नियन्त्रणका लागि प्रदेश र संघ सरकारसँग माग गरिएको बताउनुभयो । 

कुर्मीले भन्नुभयो, ‘डुडुवा खोलाको कटान निरन्तर र तीव्र गतिमा भएकाले गाउँका धेरै घरहरू उच्च जोखिममा छन् ।’ लुम्बिनी प्रदेश सरकार मातहतको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय नेपालगञ्जले डुडुवा खोला नियन्त्रणका लागि गुरुयोजना बनाएको भए पनि पर्याप्त बजेट विनियोजन नहुँदा गुरुयोजना कार्यान्वयन हुन सकेको छैन । 

लुम्बिनी प्रदेश सरकारका पूर्व कृषि तथा भूमि व्यवस्था मन्त्री भण्डारीलाल यादवले डुडुवा कटान नियन्त्रणका लागि तत्काल तटबन्धनको आवश्यक भएको बताउनुभयो । मन्त्री यादवले भन्नुभयो, ‘सरकार गम्भीर नहुँदा जनतालाई पिडा झेल्नु परी रहेको बताउनुहुँदै उहाँले चौफेरीका जनता अझै पनि सडक संजाल सँग जोडन पाएका छैनन् भने अन्धकारमा कटान र डुबानको जोखिम मोलेर बस्न बाध्य रहेको बताउनु भयो । यादवले डुडुवा तटबन्धनका लागि पहल गरी रहेको बताउनुहुँदै यसै वर्ष बिजुली र सडक पुर्‍याउनका लागि प्रदेश सरकारबाट बजेट विनियोजित गरिएको जानकारी दिनु भयो । 

बाँकेमा डुडुवा बाहेक राप्ती नदी, मा नखोला, मोरङ गा खोला र अन्य साना खोलाको कटानले सयौँ बिघा खेतीयोग्य जमिन कटान गरिरहेको छ भने दर्जनौँ गाउँहरू उच्च जोखिममा छन् ।

यता बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले निरन्तर परी रहेको पानीका कारण डुडुवा र राप्ती नदीको सतह पार गर्दै गइरहेकोले सतर्कता अपनाउन स्थानीयहरू सँग अपिल गर्नु भएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button