दमकमा अन्तर वस्तुगत संघ फुटसल हुने
झापा । दमक उद्योग वाणिज्य सङ्घले दोस्रो अन्तर वस्तुगत संघ फुटसल प्रतियोगिता गर्ने भएको छ ।
यही भदौ ६ र ७ गते हुने प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको छ । दमक उद्योग वाणिज्य सङ्घको ३४ औ स्थापना दिवसका अवसर पारेर आयोजना गरिएको सो फुटसल प्रतियोगितामा १२ वटा वस्तुगत टिम सहभागी रहेको सङ्घको खेलकुद तथा स्वास्थ्य उपसमितिका संयोजक तुलसीराम तिम्सिनाले बताउनुभयो ।
दमक ५ स्थित विष्ट फुटसल मैदानमा हुने सो प्रतियोगिताको समूह (ए ) तर्फ थान कपडा, सुनचाँदी, निर्माण, कस्मेटिक तथा ब्याग, मोबाइल, अटोमोबाइल र किराना तथा खाद्यान्न व्यवसायी संघ छन् । यसैगरी खेल तालिकाको (बी) समूहमा रेडिमेड, फर्निचर तथा फर्निसिङ्ग, जुत्ता चप्पल, स्वास्थ्य व्यवसायी संघ र आयोजक दमक उद्योग वाणिज्य संघ रहेका छन् ।
व्यवसायीबीच मैत्रीपूर्ण र आपसी सद्भाव बढाउनका लागि सङ्घले गत वर्षदेखि संस्थाको स्थापना दिवसका अवसर पारेर व्यवसायीबिच फुटसल प्रतियोगिताको आयोजना गरिआएको संघका अध्यक्ष गोपाल गुरागाईँले बताउनुभयो ।
दोस्रो संस्करणको यस फुटसल प्रतियोगिताका विजेता टिमले नगद ३३ हजार ३ सय ३३, उपविजेताले २२ हजार २ सय २२ रुपैयाँसहित ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्ने छन् । म्यान अफ द सिरिज, म्यान अफ दि म्याचसहित म्यान दि म्यान घोषणा गरी नगदसहित ट्रफी प्रदान गरिने संयोजक तिम्सीनाले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्