तपाईँ सुन्दै हुनुहुन्छः

महिला भलिबल टोलीलाई नगदसहित पुरस्कृत गर्ने सरकारको निर्णय

काठमाडौँ । काभा महिला नेसन्स लिग भलिबल च्याम्पियनसिपमा दोस्रो भएको नेपाली टोलीलाई सरकारले नगदसहित पुरस्कृत गर्ने निर्णय गरेको छ ।

टोलीका १४ खेलाडीले जनही ३ लाख रुपैयाँ, प्रशिक्षकलाई २ लाख र सहायक प्रशिक्षक, व्यवस्थापक र फिजियोले जनही १ लाख २० हजार रुपैयाँ पुरस्कार दिने सरकारले बिहीबार बसेको मन्त्री परिषद्ले निर्णय गरेको प्रधानमन्त्री केपी ओलीले शुक्रवार सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको हो ।

राष्ट्रिय खेलकुद परिषद् राखेपको कार्यकारी समितिको शुक्रवार बसेको बैठकले युवा तथा खेलकुद मन्त्रालय मार्फत नेपाल सरकारलाई काभा महिला नेसन्स लिग भलिबल टोली नगद पुरस्कारका लागि सिफारिस गर्ने निर्णय गरेको राखेपले जनाएको थियो ।

राखेपले राष्ट्रिय खेलकुद विकास नियमावली अनुसार पुरस्कारको सिफारिस गरेको हो । गत साता सम्पन्न काभामा नेपालले रजत पदक प्राप्त गरेको थियो । फाइनलमा नेपाल भारतसँग ३–२ ले पराजित भएको थियो ।

काठमाडौँ महानगरपालिकाले बिहीबार टोलीका सदस्यलाई जनही १ लाख रुपैयाँबाट पुरस्कृत गरेको थियो । नेपाल भलिबल सङ्घले काभाको टिकट विक्रीबाट सङ्कलित रकम मध्येबाट टोलीका सदस्यलाई जनही ५० हजार रुपैयाँले पुरस्कृत गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button