तपाईँ सुन्दै हुनुहुन्छः

अवैध डम्पिङ गरिएको नदीजन्य पदार्थ सुनवल नगरपालिकाद्धारा जफत

नवलपरासी,पश्चिम् । सुनवल नगरपालिकाले खोला किनारमा डम्पिङ गरेर राखिएको नदिजन्य पदार्थ नियन्त्रणमा लिएको छ । नगरपालिकाले अभियान नै चलाएर खोला दोहन नियन्त्रण गर्न लागेको हो ।

बिहीबार सुनवल वडा नं ४ तुरिया खोला किनार स्थित चारघरे, सोमईटोल लगाएतका क्षेत्रमा राखिएको अवैध नदिजन्य पदार्थ (ढुङ्गा) जफत गरिएको बताइएको छ ।

नगरप्रमुख विमला अर्यालको सक्रियतामा जिल्ला समन्वय प्रमुख भगौती यादव- रूदल, प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ , जिल्ला प्रहरी प्रमुख , सशस्त्र प्रहरी, नगर प्रहरी , सुरक्षाकर्मी, जनप्रतिनिधि र कर्मचारीहरूको संयुक्त टोलिले स्थलगत निरीक्षण गरी डम्प गरि राखिएका नदिजन्य पदार्थ जफत गरिएको छ।

सुनवल नगरपालिकाको खोलाहरूबाट दैनिक रुपमा नदिजन्य पदार्थ चोरी निकासी भइरहेको व्यापक जनगुनासो आएपछि सो चोरी निकासी रोक्न नगरप्रमुख अर्याल सहितको टोली खटिएको हो। ३० टिप्पर बढी ढुङ्गा जफत गरिएको र डम्पिङ गरेर राखिएका सबै नदिजन्य पदार्थ जफत गर्ने नगरपालिकाले जनाएको छ ।यो परिमाण अझै बढ्ने बताइएको छ ।

“व्यापक रुपमा खोला दोहन भएको छ।बिल बिजक नभएका सबै अवैध डम्पिङ जफत गर्छौ,जोसुकै होस दोहन गर्ने छुट कसैलाई छैन,जफत गरेर कारबाही प्रक्रिया अघि बढाउँछौ”नगर प्रमुख अर्यालले भन्नुभयो ।दोहन नियन्त्रणका लागि नियमित अनुगमन,निरीक्षण गरिने अर्यालको भनाई छ ।

कानुनी रूपमा असार,साउन र भदौ गरि तिन महिना नेपालका कुनै पनि नदी खोलाहरूबाट नदिजन्य पदार्थ उत्खनन् गर्न नमिल्ने कानुनी व्यवस्था रहेपनि पश्चिम् नवलपरासीका विभिन्न खोलाहरूबाट बाह्रै महिना व्यापक दोहन हुने गर्दछ ।
नगरपालिकाले नदिजन्य पदार्थ चोरी निकासीमा संलग्न २ वटा हाईवा ट्रिपर समेत नियन्त्रणमा लिएको छ ।जफत गरिएका नदिजन्य पदार्थ नगरपालिकामा राखिएको छ भने सूचना जारी गरि लिलाम प्रक्रिया अघि बढाइने नगरपालिकाले जनाएको छ ।व्यापक चोरी निकासीका कारण नदिजन्य पदार्थको परिमाण घट्दा खोला ठेक्का लाग्न समेत छाडेको छ भने अर्कातिर स्थानीय तहको आम्दानीको श्रोत समेत गुमेको छ ।

नदीनाला संरक्षण गर्ने दोहन रोक्ने जिम्मा क्षेत्राधिकार स्थानीय तहलाई भएतापनी स्थानीय तहको प्रयासले मात्रै दोहन नियन्त्रण हुने अवस्था छैन ।चोरी निकासिले स्थानीय स्तरमा हुने बिकास निर्माणमा नदिजन्य पदार्थको अभाव देखिन थालेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button