स्कुटर चालकको शव उठाएपछि गठ्ठाघरको अवस्था शान्त बन्दै

भक्तपुर । भक्तपुरको गट्ठाघरमा ट्रकको ठक्करबाट मृत्यु भएकी स्कुटरमा सवार महिलाको शव उठाइए पछि यहाँको अवस्था शान्त बन्दै गएको छ ।
ट्रकको ठक्करबाट स्कुटरमा सवार महिलाको मृत्यु भएपछि स्थानीयको प्रदर्शनका कारण गठ्ठाघरको अवस्था दिउँसो २ बजेदेखि तनावग्रस्त बनेको थियो ।
अहिले प्रहरीले भीड तितरबितर पारेर सडक खुलाएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक वेद विष्टले जानकारी दिनुभयो ।
महिलाको शव पोस्टमार्टमका लागि महाराजगन्जस्थित त्रिभुवन शिक्षण अस्पताल (टिचिङ) पुर्याइएको प्रहरी उपरीक्षक विष्टले बताउनुभयो । प्रहरीले ठक्कर दिने ट्रकलाई प्रहरी वृत्त जगाती लगेको छ ।
अरनिको राजमार्ग अन्तरगत गठ्ठाघरमा ट्राफिक प्रहरीले जाँच गरिरहेकै बेला मालवाहक ट्रकले स्कुटर चालकलाई ठक्कर दिँदा स्कुटर चालक महिलाको मृत्यु भएको हो ।
ट्राफिक जाँचको क्रममा रोकिएको स्कुटरलाई तीव्र गतिमा आएको ट्रकले ठक्कर दिएर घिसारेको र घटनास्थलमै स्कुटर चालक महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई ना ६ ख २१७३ नम्बरको ट्रकले ठक्कर दिएको प्रहरीको भनाई छ । ट्रक चालक दुर्घटनापछि फरार भएको र चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
आक्रोशित स्थानीयले प्रहरीमाथि ढुंगामुढा गरेका छन् भने ट्राफिक प्रहरी र ट्रक चालकमाथि समेत आक्रोश पोखेका छन् ।
प्रदर्शनकारीले ट्रक तोडफोड गरेका छन् ।मृतक स्कुटर चालक महिलाको पहिचान खुल्न सकेको छैन । घटनास्थलमा बाक्लो सङ्ख्यामा सुरक्षा टोली खटिएको थियो ।






प्रतिक्रिया राख्नुहोस्