कांग्रेस र एमालेबीचको गठबन्धन थप बलियो बनाउनु आवश्यक

विराटनगर । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले नेपाली कांग्रेस र नेकपा एमालेको बीचको गठबन्धनलाई थप बलियो बनाउँदै लैजानुपर्ने बताउनु भएको छ ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्नु हुँदै उहाँले मुलुकमा राजनीति स्थायित्व कायम गर्न गठबन्धन वनेको र गठबन्धनमा साना तिना कुरा आउँदैमा यसमा निराश हुनुपर्ने आवश्यकता नभएको प्रष्ट पार्नुभयो ।
एकवर्ष अघि देखि आफूले नेपाली कांग्रेस र नेकपा एमाले मिलेर अघि बढ्नु पर्छ भनेर आफूले भन्दै आएको र सो अनुसार वनेको गठबन्धन फेरी भत्काउने भन्ने कुरा सोच्न नसकिने उहाँको भनाई थियो ।
सरकार गठन भएको एक महिनाको अवधिका सरकारको विषयमा टिका टिप्पणी गर्नुपर्ने अवस्था अहिलेसम्म आफूले नदेखेको उहाँले बताउनुभयो ।
उहाँले शिक्षा, स्वास्थ्य तथा विकास निमार्ण लगायत हरेक क्षेत्रमा जनतालाई खुशी बनाउनेगरि सरकारले काम गर्नुपर्नेमा जोड दिनुभयो ।
एक प्रश्नमा उहाँले मुलुकमा राजनीतिक स्थायित्वका लागि संविधानमा सुधार आवश्यक रहेको बताउनुभयो । नेपालको संविधानमा उल्लेख भए अनुसार सबै जातजातिको प्रतिनिधित्वलाई नघटाएर उनीहरूको सहभागिता सुनिश्चित हुनेगरि समावेशी समानुपातिक निर्वाचन प्रणालीमा सुधार गर्दै जानुपर्नेमा उहाँले बताउनुभयो ।
उहाँले आगामी एक हप्ता भित्र कोशी प्रदेश सरकारमा नेपाली कांग्रेस सहभागी हुने समेत बताउनुभयो । नेता कोइरालाले यस विषयमा पार्टी सभापति र प्रधानमन्त्री बिच छलफल चलिरहेकाले कोशी प्रदेश सरकारमा चाडै कांग्रेस सहभागी हुने प्रष्ट पार्नुभयो ।
एक अर्को प्रश्नमा उहाँले नेपाली कांग्रेसको १५ महाधिवेशनमा समयमा हुनुपर्ने बताउनुभयो । नेता कोइरालाले १४ महाधिवेशनमा पार्टी सभापति पदमा उम्मेदवारी दिएको र त्यसमा आफु सफल नभएकाले १५ महाधिवेशनमा पार्टी सभापतिका लागि आफूले उम्मेदवारी दिने कुरा स्वाभाविकै भएको बताउनुभयो । त्यसका लागि आफूले विभिन्न जिल्लामा गएर पार्टीका नेता तथा कार्यकर्ताको चाहना बुझिरहेको उहाँको भनाई थियो ।







प्रतिक्रिया राख्नुहोस्