कोशी प्रदेशमा जनताको गुनासो सुन्न ‘हेल्लो सिएम’ सेवाको शुभारम्भ

विराटनगर । कोशी प्रदेश सरकारले आजदेखि जनताको गुनासो सुन्नका लागि हेल्लो सिएम सुरु गरेको छ ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हेल्लो सिएम सेवाको शुभारम्भ गर्नुभएको हो ।
गुनासो व्यवस्थापनको लागि भिन्दै कक्ष राखी २४सै घण्टा जनताको गुनासो सुन्न सकिने गरी व्यवस्थापन गरी सुरुवात गरिएको हो ।
प्रदेश सुशासन ऐन, २०७६ अनुसार यो हेल्लो सिएम सुरु गरिएको हो । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले यो सुरुवातले शासकीय सुधारमा सहयोग पुग्ने बताउनुभयो ।
उहाँले सरकारका विभिन्न सेवा र निकायका काम कारबाहीलाई प्रभावकारी बनाउन हेल्लो सिएम महत्वपूर्ण हुने बताउनुभयो । सुशासनबाट नै जनतालाई राहत दिन सकिने भएकाले यसलाई प्रभावकारी सञ्चालन गर्न कर्मचारीलाई मुख्यमन्त्री कार्कीले निर्देशन दिनुभयो ।
जनताको जीउधन र विपद्सँग जोडिएका आपत्कालीन काममा पनि यो प्रभावकारी हुने विश्वास मुख्यमन्त्री कार्कीले व्यक्त गर्नुभयो । प्रदेशका प्रमुख सचिव केदारनाथ शर्माले अहिलेको सरकार निर्माण भएपछि शासकीय सुधारमा उल्लेख्य प्रगति भएको चर्चा गर्दै यो सेवाले थप सुशासन वृद्धि हुने बताउनुभयो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा भिन्दै कक्ष निर्माण गरी कर्मचारीको समेत व्यवस्थापन गरेर हेल्लो सिएम सञ्चालनमा ल्याइएको हो ।
कोशी प्रदेश सरकारसँग भएका गुनासा वा अन्य सहयोगका लागि टोल फ्री नम्बर १६६०२१५२००२ मा फोन गर्न सकिने छ ।







प्रतिक्रिया राख्नुहोस्