ताप्लेजुङमा पहिरोले दुई घर बगायो

ताप्लेजुङ । गएराति गएको पहिरोले फक्ताङ्लुङ गाउँपालिका–६ मा दुई वटा घर बगाएको छ ।
पहिरोले कञ्चनजङ्गा आधार शिविर जाने पदमार्गअन्तर्गत घुन्सा खोलाको पुलसमेत बगाएको वडाध्यक्ष पेम्बाटासी शेर्पाले जानकारी दिनुभयो ।
पुल नजिकै स्थानीय छिरिङथाक्चे शेर्पाले होटेल सञ्चालन गर्दै आउनुभएको घर पहिरोले बगाएको हो । उहाँकै अलैँची बगानमा रहेको अर्को घर पनि पहिरोले पुरेको वडाध्यक्ष शेर्पाले बताउनुभयो ।
होटेल सञ्चालक शेर्पा आज दिउँसो सदरमुकाम गएको र होटलमा रहनुभएकी उहाँकी छोरीसमेत बेलुका अर्को घरमा गएकाले मानवीय क्षति नभएको बताइएको छ । “साँझदेखि नै पानी पर्न सुरु भएको थियो, राति करिब २ बजेपछि पहिरोले दुई घर बग्यो, घरमा कोही नभएकाले मानवीय क्षति भने भएन । घुन्सा खोलाको ८१ मिटर लामो पुलसमेत बगाएपछि ओहोरदोहोरमा समस्या छ, यसको विकल्प खोजी रहेका छौँ”, वडाध्यक्ष शेर्पाले भन्नुभयो ।
पुल बगेकाले ओहोरदोहोरमा हुने समस्या समाधानका लागि तत्कालका लागि तुइन व्यवस्थापन गर्ने वा कुनै विकल्प गर्ने भन्ने बारेमा गाउँपालिकासँग समन्वय भइरहेको बताइएको छ ।
यही पुल भएर कञ्चनजङ्गा आधार शिविर जाने पदमार्ग पुग्ने गरिन्छ ।रासस







प्रतिक्रिया राख्नुहोस्