बालविवाह तथा दाइजो रोक्न धर्म गुरुहरू सक्रिय
जनकपुरधाम । मधेश प्रदेशका जिल्लाहरूमा बालविवाह तथा दाइजो रोक्न धर्मगुरु सक्रिय भएका छन् ।
मधेश प्रदेशका महोत्तरी, सर्लाही तथा रौतहट जिल्लामा वर्ल्ड भिजनको सहयोगमा निरन नेपाल संस्थाले धर्मगुरु मार्फत यस्ता प्रकारका विकृतिहरू रोक्नका लागि काम गरेपछि यसको समाजमा सकारात्मक प्रभाव परेको एकडरा बेला गाउँपालिकाका अध्यक्ष दिप नारायण मण्डलले जानकारी दिनुभयो ।

गरिबी, अशिक्षा तथा पछौटेपनाका कारणले मधेश प्रदेशका जिल्लाहरूमा अहिले पनि ४२ प्रतिशतले बालविवाह हुने गरेको छ । बालविवाह दाइजो तथा अन्य प्रकारको महिला हिंसा रोक्नका लागि भएको प्रयासले समाजमा सकारात्मक असर परेको महोत्तरीका हिन्दू धर्म गुरु पण्डित शोभाकान्तले जानकारी दिनुभयो । बाल विवाह गर्नु पर्ने कुरा कुनै पनि धार्मिक ग्रन्थहरूमा उल्लेख नभएको पनि उहाँले बताउनुभयो ।

बालविवाह तथा दाइजोको विरुद्धमा काम गर्दै आउनुभएका रौतहट जिल्लाका मौलाना अनिसुर रहमानले आफूले दर्जनौँ बालविवाह रोक्नमा सफल हुनुका साथै विना दाइजो विवाह गर्नेलाई सम्मान गर्दै आएपछि यसको सकारात्मक असर मुस्लिम समाजमा परेको बताउनुभयो ।
सर्लाहीका लक्ष्मी सोनार पासवानले बालविवाह तथा दाइजोका कारणले महिला हिंसामा वृद्धि भएको बताउँदै यसको नियन्त्रणका लागि आफूले सर्लाहीमा काम गर्दै आएको र यसको सकारात्मक असर परेको बताउनुभयो ।
कार्यक्रममा मधेश प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारीले सामाजिक तथा सांस्कृतिक कुसंस्कारहरू हटाउनमा धार्मिक गुरुहरूको महत्वपूर्ण भूमिका हुने भएकाले यस्ता प्रकारको कार्यक्रमले समाजमा सकारात्मक असर पारेकोमा खुशी व्यक्त गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्