‘भैँसी ब्लक’ कार्यक्रमले किसान पशुपालनतर्फ आकर्षित
स्याङ्जा । स्याङ्जाको चापाकोटमा ‘भैँसी ब्लक’ कार्यक्रम सञ्चालन भएसँगै यहाँका किसान पशुपालनतर्फ आकर्षित भएका छन् ।
भैँसी ब्लक कार्यक्रमले चापाकोट–८ मा रहेको रत्नपुर साना किसान कृषि सहकारी संस्थामा आबद्ध किसानको व्यावसायिक विकासका लागि सहयोग पुगेसँगै पशुपालनतर्फ आकर्षित भएका सहकारीका अध्यक्ष जीवन डोटेलले बताउनुभयो । “भैँसी ब्लक कार्यक्रमले परम्परागत रुपमा पशुपालन गर्दै आएका किसानको आनीबानी तथा व्यवहारमा परिवर्तन ल्याएको छ”, उहाँले भन्नुभयो, “पशुका लागि दानापानी, घाँस, सामान्य औषधोपचार गर्ने तौरतरिकाका बारेमा ज्ञान पाएसँगै पशुपालनतर्फ आकर्षित हुनुभएको हो ।”
भैँसी ब्लक कार्यक्रमबाट गोठलगायत पूर्वाधार निर्माण गरी यहाँका किसानले नयाँ पशु पनि थप गर्दै गएका छन् । भैँसी ब्लक कार्यक्रममा सहकारीमा आबद्ध ६१ जना किसान सहभागी हुनुभएको थियो । यहाँका ६१ किसानका नयाँ गोठ निर्माण, पुराना गोठ मर्मत, डुँड तथा भकारो सुधार, मलमूत्र व्यवस्थापन कार्य भैँसी ब्लकमार्फत सञ्चालन गरिएको थियो । “पुरानो तरिकाले बनाइएका गोठ तथा संरचनालाई आधुनिक र व्यवस्थित बनाइएको छ”, उहाँले भन्नुभयो, “हिलो, माटोमा बस्ने भैँसी ओभानोमा बस्ने भएका छन्, डुँड निर्माण गरिएकाले घाँस र दानापानी दिन सजिलो भएको छ, थोरैले पनि पुग्छ ।”
भैँसी पाल्नका लागि संरचना आधुनिक तरिकाले निर्माण भएका छन् । पुराना संरचनालाई मर्मत तथा सुधार गरिएको छ । घाँसलाई काटेर स–सानो टुक्रा पारेर पशुलाई दिँदा खेर नजाने हुँदा घाँसको बचत भएको छ । दानापानीका लागि डुँड बनाइएकाले सहज भएको उहाँले बताउनुभयो । भेटेरिनरी अस्पताल तथा पशुविज्ञ सेवा केन्द्रको साझेदारीमा गत आव २०८०/८१ मा भैँसी ब्लक कार्यक्रम सञ्चालन भएको हो ।
भैँसी ब्लक कार्यक्रम सञ्चालन भएपछि स्थानीयस्तरमा पहिलेदेखि नै पशुपालन गर्दै आएका किसान थप व्यावसायिक बन्दै गएको भेटेरिनरी अस्पताल तथा पशुविज्ञ सेवा केन्द्रका वरिष्ठ पशु चिकित्सक डा रुपेश श्रेष्ठले बताउनुभयो । किसानमा उत्प्रेरणा र प्रोत्साहन भएकाले पशुपालन आधुनिकीकरणसँगै थप व्यवस्थित एवम् व्यावसायिकतर्फ अगाडि बढ्दै गएको उहाँले बताउनुभयो ।
डा श्रेष्ठका अनुसार सहकारीमा आबद्ध चापाकोट–८ र ९ मा नयाँ गोठ निर्माण पाँच, गोठ मर्मत सुधार नौ, डुँड निर्माण भकारो सुधार ३३, मलमूत्र व्यवस्थापनसम्बन्धी १४ गरी कूल ६१ किसान लाभान्वित भएका हुन् । भैँसी ब्लक कार्यक्रममार्फत पशु आहार तालिम, पशु स्वास्थ्य शिविर, घाँसको बीउ वितरण र भिटामिन उपलब्ध गराइएको थियो । रासस







प्रतिक्रिया राख्नुहोस्