७ महिनामा १७ जनामा डेंगु

बाँके । गर्मी र बर्खायाम लागेसँगै पछिल्लो ७ महिनामा बाँकेमा १७ जनामा डेंगु देखा परेको छ ।
डेङ्गु संक्रमित बिरामीहरुको उपचार भेरी अस्पतालमै गरिएको छ । बाँकेको भेरी अस्पताल, मेडिकल कलेजमा १७ जनाले डेंगुको उपचार गराइएको स्वास्थ्य कार्यालय बाँकेकी कीटजन्य रोग फोकल पर्सन दुर्गा गौतमले जानकारी दिनुभयो ।
आर्थिक बर्ष ०८०/०८१ मा अस्पताल बाहेक बाँकेका स्वास्थ्य संस्थामा ९४ जनामा डेंगु पुष्टि भएको तथ्याङ्क छ । स्वास्थ्य कार्यालय बाँकेको तथ्याङ्क अनुसार, गत आ.व. ०८०/०८१ मा सबैभन्दा बढी कोहलपुर नगरपालिकामा ४५, खजुरामा ३६, नेपालगन्जमा १२ र बैजनाथ गाउँपालिकामा १ जनामा डेंगु पुष्टि भएको थियो । यसबर्ष नेपालका चार जिल्ला बाहेक सबै जिल्लामा डेंगु संक्रमित फेला परेकाछन् ।
स्वास्थ्य कार्यालय बाँकेका अनुसार असोजदेखि मङ्सिरसम्म जिल्लामा डेंगु संक्रमित बढी फेला पर्ने गरेका छन् । स्वास्थ्य कार्यालय बाँकेकी कीटजन्य रोग फोकल पर्सन गौतमले डेंगु फैलाउने मच्छरका लागि उपयुक्त वातावरण भदौदेखि मङ्सिरसम्म हुने गरेको बताउनुभयो । ‘विगतको तथ्याङ्क हेर्दा डेंगु फैलने जोखिम असोजदेखि सुरु हुने र अन्य समयमा पनि संक्रमित फेला परिरहने उहाँको भनाई रहेको छ।’
लामखुट्टेबाट बच्न पूरै शरीर ढाक्ने लुगा लगाउने, घर, कार्यस्थल र सार्वजनिक स्थानमा पानी जम्न नदिने, पानी राखेको भाँडालाई छोपेर राख्ने, लामखुट्टे भगाउने धूप बाल्ने र लामखुट्टेको टोकाईबाट बच्ने मलम लगाउनले, घरभित्र लामखुट्टे छिर्न नसक्ने गरी झ्याल –ढोकामा जाली र सुत्ने बेलामा झुल लगाएर सुत्ने, अँध्यारा कुना–काप्चामा किटनाशक औषधी छर्कने र एयर कुलर, पानी ट्याङ्की, फूलदानी, गमलामा राखिएका प्लेटहरू नियमित सफा गर्ने हो भने डेंगुबाट बच्न सकिने चिकित्सकको सुझाव रहेको छ।
उच्च ज्वरो आउनु,जोर्नी र मांसपेशीहरूमा असह्य पीडा हुनु, आँखाको गेडी दुख्नु, अत्यधिक टाउको दुख्नु, शरीरमा राता बिमिराहरू आउनु, वाकवाकी लाग्नु वा वान्ता हुनु, यस्ता लक्षणहरू देखापरेमा डेंगी हुन सक्छ । तत्काल चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाह लिनुपर्ने हुन्छ।








प्रतिक्रिया राख्नुहोस्