वनभोज खुवाएर मनाइयो सौराहामा १३ औँ अन्तर्राष्ट्रिय हात्ती दिवस
सौराहा । जङ्गल पर्यटनको रूपले परिचित सौराहामा सोमबार १३ औँ अन्तर्राष्ट्रिय हात्ती दिवस मनाइएको छ । सौराहाका करिब ६० वटा हात्तीलाई वनभोज र हात्ती संरक्षणसम्बन्धी बहस र छलफल गरी दिवस मनाइएको हो ।

युनाईटेड हात्ती सञ्चालन सहकारी संस्थाको आयोजनामा बाघमरा मध्यवर्ती सामुदायिक वनको परिसरमा सौराहामा निजी स्तरमा पालेका र निकुञ्जका हात्तीहरूलाई एकै ठाउँमा राखेर वनभोजका रुपमा विभिन्न मिष्ठान्न परिकारद्धारा भोजन गराइएको छ ।
मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुङ्गाना र निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले हात्तीका छावालाई सख्खर र फलफूलबाट बनाइएको केक खुवाएर हात्ती दिवसको उद्घाटन गर्नुभएको थियो ।

निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष र सौराहामा निजी स्तरका हात्तीहरूलाई वनभोज स्वरूप मिष्ठान्न भोजन गराइएको हो । हात्तीलाई उखु, गाजर, बन्दा, सुन्तला, ड्रागन, स्याउ, फर्सीलगायत झन्डै पन्ध्र प्रकारका खानेकुरा खुवाइएको युनाईटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष दीपेन्द्र खतिवडाले जानकारी दिनुभयो ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत पुर्जा पुनले हात्ती सफारीको विकल्प खोज्नुको साटो हात्तीको उपयोग र संरक्षणलाई ध्यान दिएर काम गर्नुपर्ने बताउनुभयो । हात्ती र मानव बीचको द्वन्द्वका कारण संरक्षणमा चुनौती थपिएको भन्दै उनले धार्मिक आस्था र हात्तीको कारणले विपन्न समुदायको जीविकोपार्जनमा परेको सकारात्मक प्रभावलाई जनस्तर सम्म लैजानुपर्ने उहाँले बताउनुभयो ।

मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष ढुङ्गानाले चितवन निकुञ्जको संरक्षण र पर्यापर्यटनमा हात्तीको भूमिका अग्रणी स्थानमा रहेको बताउनुभयो । निजी स्तरमा पालेका हात्तीहरूलाई चरिचरणको समस्या रहेको भन्दै उहाँले राज्यले घरपालुवा हात्तीलाई पनि राज्यकै सम्पत्तिको रुपमा ग्रहण गर्नुपर्ने धारणा राख्नुभयो । हात्ती संरक्षणको सन्देश प्रवाह गर्न आयोजित कार्यक्रममा हात्तीलाई केकसहित उसलाई मनपर्ने परिकार खुवाइएको कार्यक्रम संयोजक शम्भुप्रसाद मालीले जानकारी दिनुभयो ।
राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहा, क्षेत्रीय होटल संघ सौराहा, रेवान सौराहा सहित बाघमारा, चित्रसेन, कुमरोज मध्यवर्ती सामुदायिक वनसँगको सहकार्यमा हात्ती दिवस मनाइएको हो ।








प्रतिक्रिया राख्नुहोस्