तपाईँ सुन्दै हुनुहुन्छः

रामग्राममा गर्भवतीलाई गाउँमै निःशुल्क भिडियो एक्सरे सेवा

नवलपरासी,पश्चिम् । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले गत वर्ष देखि नै गर्भवती महिलाका लागि निःशुल्क रुपमा भिडियो एक्सरे सेवा सुरु गरेको थियो । भिडियो एक्स रे सेवा प्रभावकारी बन्दै गएको छ ।

गर्भवती महिलाहरूका लागी साप्ताहिक रुपमा स्वास्थ्य संस्थामा निःशुल्क रुपमा सुरु गरिएको अल्ट्रासाउण्ड सेवामा हाल सम्म ८ सय ८२ जना गर्भवती महिलाले सेवा लिएका छन् ।

नगरपालिकाले गत वर्षको जेठ देखि सुरु गरेको उक्त सेवा ग्रामीण भेगका गर्भवतीहरूका लागी लाभदायी बनेको छ । नगरपालिकाले घरदैलो भिडियो एक्सरे कार्यक्रम अन्तरर्गत नगरभित्रका ८ वटा स्वास्थ्य संस्थाबाट गर्भवती महिलाहरूको निःशुल्क अल्ट्रासाउण्ड सेवा प्रदान गर्दै आएको छ ।

परासी तथा भैरहवा सम्म भिडियो एक्स रे का लागी जानुपर्ने बाध्यतालाई अन्त्य गर्दे सरकारी स्वास्थ्य संस्थाबाटै सेवा पाएपछि स्थानीय खुसि भएका छन् । परासी तथा बुटवल भैरहवा जानु नपर्दा समयको पनि बचत भएको र नियमित स्वास्थ्य जाँच नगर्ने महिलाहरू पनि जाँचको दायरामा आएको रामग्राम नगरपालिकाका जनस्वास्थ्य निरीक्षक सुरज हरिजनले जानकारी दिनुभयो ।

नगरपालिकाले ग्रामीण भेगमा नियमित गर्भ जाँच नगराउने समस्यालाई मध्यनजर गर्दे उक्त सेवा सुरु गरेको जनाएको छ । ‘विशेष गरी ग्रामीण क्षेत्रमा गर्भवती महिलाहरूले नियमित स्वास्थ्य जाँच नगराउने समस्या थियो, अहिले गाउँमै भिडियो एक्सरे सेवा पाएपछि आर्थिक तथा पहुँचको आधारमा धेरै सहज भएको छ, नगर प्रमुख धनपत यादवले भन्नू भयो ।’

नगरपालिकाले गर्भवतीका लागि निःशुल्क भिडियो एक्सरे सेवा सहित निःशुल्क एम्बुलेन्स सेवा, पोषण झोला वितरण, महिला स्वास्थ्य स्वयंसेवीकाहरुलाई निःशुल्क स्वास्थ्य बिमा, घरदैलो मै पुगेर स्वास्थ्य परामर्श जस्ता काम गरेको छ ।

चालु आ.ब मा नगरपालिकाकाले ४४ जना गर्भवती महिलाहरूलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरेको छ । रामग्राम नगरपालिकाले यसै वर्षदेखि सामुदायिक महिला स्वास्थ्य स्वयंसेवीकाहरुकालागि निःशुल्क स्वास्थ्य बिमा पनि गरिदिएको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक हरिजनले बताउनुभयो ।

सुत्केरी महिलाहरूलाई घरमै पुगेर आमा र बच्चा दुवैको प्रोटोकल अनुसार जाँच तथा परामर्श, कुपोषित बालबालिकाको खोजपड्ताल, विद्यालय स्वास्थ्य शिक्षा, कुष्ठरोगी तथा क्षयरोगी बिरामीको खोजी कार्यक्रम नगरपालिकाले सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button