तपाईँ सुन्दै हुनुहुन्छः

‘काउन्सिलको स्वनियमनका लागि पनि आचारसंहिता आवश्यक’

काठमाडौँ । सांसदहरुले प्रेस काउन्सिल नेपालका अध्यक्ष र सदस्यका लागि पनि आचारसंहिताको आवश्यकता औँल्याउनुभएको छ ।

राष्ट्रियसभा, विधायन व्यवस्थापन समितिको आजको बैठकमा ‘मिडिया काउन्सिल विधेयक, २०८०’ माथिको दफावार छलफलमा सांसदहरुले काउन्सिलले पत्रकार र आमसञ्चार माध्यमका लागि आचारसंहिता बनाए जस्तै विधेयकमै अध्यक्ष र सञ्चालक समिति सदस्यका लागि पनि आचारसंहिताको व्यवस्था गर्नुपर्ने माग गरेका हुन् ।

विधेयकमाथि संशोधन प्रस्तुत गर्दै डा बेदुराम भुसालले भन्नुभयो, “काउन्सिलको स्वनियमनका लागि पनि आचारसंहिता बनाउनुपर्ने हुन्छ, पहिला काउन्सिल आफैँका लागि आचारसंहिता चाहिन्छ अनि मात्रै उसले अरू मिडियाका लागि आचारसंहिता लागू गर्नसक्ने व्यवस्था गर्नुपर्छ ।”

समिति सदस्य घनश्याम रिजालले विधेयकमा काउन्सिल अध्यक्ष वा सदस्यलाई कार्यक्षमताको अभावका कारण हटाउनुपर्ने भन्ने व्यवस्थालाई स्पष्ट हुनेगरी संशोधन गर्नुपर्ने माग गर्नुभयो । तुलसा दाहालले पदाधिकारीको पदावधि कहिलेदेखि सुरु हुन्छ भन्ने विषयलाई प्रष्टसँग लेख्नुपर्छ भन्नुभयो ।

त्यस अवसरमा प्रेस काउन्सिल नेपालले ‘मिडिया काउन्सिलसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’लाई संविधानको मूल मर्म र भावनाअनुरूप अगाडि बढाउन सुझाव दिँदै आएको छ ।

विधेयकमा अध्यक्ष पद रिक्त रहेको वा निलम्बनमा रहेको अवस्थामा अध्यक्ष नियुक्ति नभएसम्मका लागि कार्यवाहक अध्यक्षका रूपमा सदस्य ९मन्त्रालयले तोकेको राजपत्राङ्कित प्रथम श्रेणीको अधिकृत०ले बैठक बोलाउन र सो बैठकको अध्यक्षता गर्ने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button