उद्योग मन्त्री भण्डारी द्वारा कोलकत्ता पोर्टको अवलोकन भ्रमण

काठ्माण्डौँ I गत मङ्गलवारदेखि भारत भ्रमणमा रहनुभएका नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले कोलकत्ता पोर्टको अवलोकन गर्नुभएको छ ।
अवलोकनका क्रममा उहाँले पोर्टका अध्यक्ष रथेन्द्र रमन लगायतका उच्च अधिकारीहरुसंग नेपालको पारवहन व्यापार प्रक्रिया सहजीकरण तथा लागत कामगर्ने विषयमा छलफल गर्नुभएको छ ।
अवलोकन भ्रमणका क्रममा भूपरिवेष्टित मुलुकले प्राप्त गर्ने व्यापार सौविध्यता, पारवहन व्यापार सबलीकरण, ट्रान्ससिपमेण्ट मोडालिटि, भण्डारण जाचँपास लगायतका विषयमा जानकारी लिनुभयो ।
भारतीय भन्सार विभागले सन २०१८मा पाइलट प्रोजेक्टको रुपमा लागु गरेको विद्युतीय कार्गो ट्रेकिङ प्रणाली ECTSले पारवहन लागत बढी भएको बारेमा जिज्ञासा राख्नुभयो । पोर्टका पदाधिकारीले ECTS लाई भारतीय भन्सार विभागले पुनरावलोकन गर्न लागेको एवं बजार प्रतिस्पर्धा बनाई लागत कमगर्न लागेको जानकारी गराएका छन् ।
नेपालका तर्फबाट पारवहन लागत कामगर्ने विषयमा लागेको राखेको जिज्ञासामा चीनबाट हल्दीया र कोलकत्तामा सिधा कार्गो जहाजको व्यवस्था गरिएकाले सिंगापूरमा गरिने ट्रान्ससिपमेण्ट लागत कम भई सम्पुर्ण लागत नै घट्ने जानकारी दिएका छन् ।
पारवहन लागतको १० प्रतिशत मात्रै पोर्ट लागत भएकाले थप सहुलियत दिन सकिने पोर्टका अधिकारीहरुले बताएका छन् । नेपाली महावाणिज्य दूतावास एवं नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडको समन्वयमा छलफल भएको थियो ।
अवलोकन भ्रमणमा वाणिज्य मन्त्रालयका द्विपक्षीय महाशाखा प्रमुख सहसचिव बाबुराम अधिकारी तथा कोलकत्ता स्थित महावाणिज्य दूतावासका पदाधिकारीहरू लगायतको उपस्थिति थियो ।
तेस्रोमुलुक सँगको व्यापारमा देखिएका प्रक्रियागत समस्याहरू, आयातकर्ता र निर्यातकर्ताका समस्याहरूका विषयमा जानकारी लिई कोलकत्ता स्थित महावाणिज्य दूतावास तथा गोदाम कम्पनी लिमिटेडलाई सहजीकरण गरि परिणाममुखी भएर काम गर्न मन्त्री भण्डारीले निर्देशन दिनुभयो ।
५ दिनको भारत भ्रमण सकेर उहाँ आज स्वदेश फर्कँदै हुनुहुन्छ ।








प्रतिक्रिया राख्नुहोस्