तपाईँ सुन्दै हुनुहुन्छः

नियम विपरीत बनेका संरचना भत्काइँदै

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका ११ स्थित कलुवापुर–बेलौरी सडकको क्षेत्राधिकार भित्र बनाइएका भौतिक संरचना हटाइने भएको छ । सडकको दाँया बायाँ १५ मिटरको क्षेत्रमा बनाइएका खोका, छाप्रा, टहरा, ठेला, व्यावसायिक सामग्री, प्रचार प्रसारका सामग्री, पक्की भौतिक संरचना लगायत हटाउन लागिएको हो । सडक क्षेत्राधिकार भित्रका संरचना हटाउनका लागि तीन दिने सार्वजनिक सूचना प्रकाशित गरी सम्बन्धित व्यक्तिहरूलाई जानकारी दिने कार्य गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज बिष्टले जानकारी दिनुभयो। 

उहाँका अनुसार यही साउन २७ गतेदेखि अवैध रुपमा निर्माण गरिएका संरचना हटाउन सुरु गरिने छ । “सडक अतिक्रमण हुँदा सवारी साधनको आवागमनमा असहज हुँदा दुर्घटनाको जोखिम उच्च रहेको छ” उहाँले भन्नुभयो, “सडकको सुन्दरतामा समेत प्रतिकूल असर परेको छ ।” 

सूचनाको अवज्ञा गरी अवैध संरचना सम्बन्धित पक्षले नहटाइए प्रचलित कानुन अनुसार कारबाही प्रक्रिया अगाडी बढाइने उहाँले बताउनुभयो । सडक अतिक्रमण हुँदा पानीको निकास थुनिएर बजार क्षेत्र जलमग्न हुने गरेको छ । संभावित सङ्क्रामक रोगहरू फैलिन सक्ने उच्च सम्भावना बढेर गएपछि नगरपालिको अवैध संरचना हटाउनका लागि गाडी बढाएको बताइएको छ । दुई दिन अघि मात्रै नगरपालिकाले थुनिएको पानीको निकास अस्थायी रुपमा खोलेको थियो ।

पानीको निकास हुने ठाउँमा पक्की भौतिक संरचना निर्माण गरिदा दिगो व्यवस्थापन हुन सकेको छैन । यस अघि नगरपालिकाले पूर्व पश्चिम राजमार्गको झलारी, वन समिति लगायत बजारका अवैध सडक क्षेत्र अतिक्रमण गरी बनाइएका भौतिक संरचना हटाएको थियो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button