तपाईँ सुन्दै हुनुहुन्छः

‘सामाजिक विकासमा सामुदायिक वनको योगदान महत्वपूर्ण’

काठमाडौँ । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले प्रकृति संरक्षण, वातावरणीय सन्तुलन र सामाजिक विकासमा सामुदायिक वनको योगदान महत्वपूर्ण रहेको बताउनुभएको छ ।

सामुदायिक वन दिवस, २०८१ का अवसरमा एमालेको वन तथा वातावरण विभागले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले वन क्षेत्र विस्तार भएकाले अब दुई वर्षमा काठमा आत्मनिर्भर र पाँच वर्षमा काठ निर्यात गर्ने गरी मन्त्रालयले काम अघि बढाउने जानकारी गराउनुभयो । यसका लागि सरोकारवाला सबैको सहयोगको अपेक्षा गरिएको उहाँको भनाइ थियो । मन्त्री ठकुरीले सामुदायिक वनका कार्ययोजना निर्माणमा देखिएका समस्या चाँडै समाधान हुने विश्वास व्यक्त गर्नुभयो ।

त्यस अवसरमा रक्षामन्त्री मानवीर राईले वन जङ्गलले वातावरण संरक्षणका साथै पानीका मुहान पनि संरक्षण हुने भएकाले वन क्षेत्रको दिगो संरक्षणमा जोड दिनुभयो । उहाँले आयातित सल्लाका बोटले पानीका मुहान सुक्दै गएको बताउँदै नेपालका रैथाने सल्लाको वन विस्तारमा जोड दिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

मन्त्री राईले वनको विविधताले सबै वन्यजन्तुका लागि आहारा प्रदान गर्ने भए पनि पछिल्लो समय वनमा आहाराको कमी हुँदा बाँदर प्रजाति आहारका लागि मानव बस्ती पस्ने गरेको बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले नेपालले लक्ष्यअनुरूपको वन क्षेत्र संरक्षणमा सफलता हासिल बताउँदै अब वन क्षेत्र विस्तार गर्ने नीति आवश्यक नरहेको धारणा व्यक्त गर्नुभएको छ ।

उहाँले प्राकृतिक स्रोतको संरक्षण र त्यसबाट स्थानीयले प्राप्त गर्ने लाभलाई सँगै लैजानुपर्नेमा जोड दिनुभयो । प्रकृति र मानिसलाई सँगै जोड्न सके मात्र प्रकृतिको दिगो व्यवस्थापन हुने उहाँको भनाइ थियो ।

महासचिव पोखरेलले नेपालको सामुदायिक वनले प्रकृति संरक्षणमा विश्वमै उदाहरणीय काम गरेको उल्लेख गर्दै भन्नुभयो, “हाम्रो प्रकृति हाम्रै लागि उपयोग हुनुपर्छ ।” उहाँले पर्यापर्यटनबाट पनि वन संरक्षण हुन्छ भन्ने नयाँ अवधारणमा सरकारका आगामी नीति बन्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

नेपाली कांग्रेसका नेता शङ्कर भण्डारीले वन क्षेत्र बढाएर मात्र नहुने बताउँदै काठको उत्पादन बढाएर विदेशबाट हुने आयात रोक्नुपर्नेमा जोड दिनुभयो । उहाँले वैज्ञानिक वन व्यवस्थापन विस्तृत अध्ययन नगरी खारेज गरेका कारण वन उत्पादनमा समस्या देखिएको बताउनुभयो । नेता भण्डारीले मुलुकको आवश्यकताअनुसार वन संरक्षण र वन्यजन्तु व्यवस्थापनको नीति बनाउन आवश्यक रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा विभागका प्रमुख एवं बागमती प्रदेशसभा सदस्य भारती पाठकले वन संरक्षणमा सामुदायिक वन उपभोक्ता समूहको योगदान महत्वपूर्ण रहेको बताउँदै यसमा देखिएका समस्या र चुनौती समाधानमा मन्त्रालयले तदारुकता देखाउनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button