सञ्चारमन्त्री गुरुङद्वारा रासस गण्डकी प्रदेश कार्यालयको निरीक्षण

गण्डकी । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आज पोखरास्थित राष्ट्रिय समाचार समिति (रासस) गण्डकी प्रदेश कार्यालयको निरीक्षण गर्नुभएको छ ।
“राससका नाममा देशभर रहेका जग्गालगायत भौतिक सम्पत्तिको सही सदुपयोग गर्ने गरी योजना बनाउनु आवश्यक छ”, निरीक्षणका क्रममा उहाँले भन्नुभयो । मन्त्री गुरुङले राससको संस्थागत सुदृढीकरणमा मन्त्रालयको तहबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
उहाँले पत्रकारको वृत्ति विकासमा पनि आफ्नो जोड रहने उल्लेख गर्नुभयो । “राससको प्रभावकारिता वृद्धिमा तपाईँहरूको ठाउँबाट इमानदारीताका साथ लाग्नुहोस्, मेरोतर्फबाट सकेको सहयोग गर्छु”, मन्त्री गुरुङले भन्नुभयो ।

निरीक्षणका क्रममा कार्यालय प्रमुख वासुदेव पौडेलले रासस प्रदेश कार्यालयको अवस्था र सेवाबारे मन्त्री गुरुङलाई जानकारी गराउनुभएको थियो ।
मन्त्री गुरुङसमक्ष उहाँले पोखरामा रासस प्रदेश कार्यालय भवन निर्माणमा सरकारको सहयोगको खाँचो औँल्याउनुभयो ।
सो अवसरमा मन्त्री गुरुङले राससको स्वामित्वमा रहेको जग्गाको स्थलगत निरीक्षणसमेत गर्नुभएको थियो । उहाँलाई प्रमुख पौडेललगायत राससकर्मीले कार्यालयमा स्वागत गरेका थिए ।








प्रतिक्रिया राख्नुहोस्