तपाईँ सुन्दै हुनुहुन्छः

काँचो स्याउ बेच्ने तिलाका व्यापारीको गोदाम सिल

जुम्ला । काँचो स्याउ बेच्ने तयारी गरेका व्यापारीको गोदाम सिल गरिएको छ । जुम्लाको तिला गाउँपालिकाले परिपक्क नहुँदै गाउँपालिकाको निर्णय विपरीत काँचो स्याउ बेच्ने व्यापारीको स्याउ राखेको गोदाम सिल गरेको हो । 

बिहीबार गाउँपालिकाकी उपाध्यक्ष गोरीकला बुढाको नेतृत्वमा गएको सुरक्षाकर्मीसहितको टोलीले तिला १ सेरी बजारमा रहेका चार वटा स्याउका गोदाम सिल गरेको हो  । यसअघि तिला गाउँपालिकाले १३ साउनमा आगामी भदौ ५ गते भन्दा अगाडी स्याउ टिप्न र निर्यात गर्न नपाउने सूचना जारी गरेको थियो ।

तिला गाउँपालिका कार्यपालिकाको निर्णय,कृषि विकास कार्यालयको परिपत्रअनुसार काँचो स्याउ टिप्न र निर्यात नगर्न साउन दोस्रो सातानै गाउँ गाउँमा सूचना गरिएको थियो । तर गाउँपालिकाको निर्णय र सूचनाको ठाडो उलङ्घन गर्दै किसान र व्यापारीको मिलेमतोमा लुकीछिपी काँचो स्याउ निर्यात गरेको गुनासो आएपछि बिहीबार उपाध्यक्ष बुढा,निमित्त प्रमुख प्रशासकीय अधिकृत लालचन्द्र बुढासहितको टोलीले स्याउका गोदाममा ताला लगाएको हो । 

यद्यपि यसअघि लुकीछिपी तिला ७ को दुई ट्रक स्याउ  निर्यात भइसकेको छ । उक्त वडाको स्याउ निर्यात भएपछि वडा नं. १ राराका किसानले धमाधम काँचो स्याउ टिपेर निर्यात गर्न प्याकिङ गर्न लागेको अवस्थामा पालिकाले गोदाम सिल गरेको तिला गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाले बताउनुभयो। उहाँका अनुसार बिहीबार चार वटा गोदाममा सिल गरिएको छ  भने तीन वटा गोदाममा शुक्रबार  सिल गरिने छ । 

व्यापारी पार्वती बुढाको १४२ कार्टुन राखिएको गोदाम,तिला ९ का कमल बुढाको ३९ कार्टुन राखिएको गोदाम,तिला १ का गोरख बहादुर बस्नेतको ४० कार्टुन राखिएको गोदाम र तिला २ का जग रावतका ४० कार्टुन राखिएको गोदाममा पालिकाले ताला लगाएको उपाध्यक्ष बुढाले जानकारी दिनुभयो।

उहाँले भन्नुभयो,‘बाँकी तीन गोदामका व्यापारीसँग समन्वय गरी ताला लगाइने छ । पालिकाले भदौ ५ गते भन्दा अगाडी स्याउ टिप्न र निर्यात गर्न रोक लगाउँदा पनि अटेरी गरेर निर्यात गरेको पाइएपछि सिल गरेका हाँै । भदौ ५ भन्दा अगाडी सिफारिस पनि नदिने र निर्यात पनि हुन नदिने अडानमा छौ ।’

निमित्त प्रमुख प्रशासकीय अधिकृत लालचन्द्र बुढाले जुम्लाको पहिचान र आर्थिक समृद्धि सँग जोडिएको अर्ग्यानिक स्याउ नपाक्दै किनबेच ह’न थालेपछि सिल गरिएको बताउनुभयो । भदौ ५ गतेपछि मात्रै स्याउ बिक्रीको सिफारिस दिएर निर्यात गरिने उहाँको भनाई छ । 

लुकीछिपी लिन खोजेको खण्डमा कडा कारबाही गरिने र नाग्म,राराकुडारीका प्रहरी चौकीमा सुरक्षा चेकजाँचमा कडाइ गर्न अनुरोध गरिएको उहाँले जानकारी दिनभयो । तिला सँगै जुम्लाका विभिन्न क्षेत्रबाट काँचो स्याउ निर्यात भएको पाइएको छ । काँचो स्याउ निर्यात रोक्न पटक पटक निर्णय र छलफल भएपनि कार्यान्वयनमा सरोकारवालाले ध्यान नदिँदा किसान र व्यापारीको मिलेमतो काँचो स्याउ निर्यात हुने गरेको छ । 

तिलाका गोदाम सिल गरेपछि किसान तथा व्यापारीले दुई हप्तासम्म कार्टुन स्याउ प्याक गरेर राखेपछि पछि कुहिएको खण्डमा पालिकाले जिम्मेवारी लिनु पर्ने माग गरेका छन् । कसैलाई स्याउ लिन दिने र कसैलाई रोक्ने भन्दै उनीहरूले गुनासोसमेत पोखेका छन् । 

अर्ग्यानिक स्याउ उत्पादनको केन्द्र मानिएको जुम्लाबाट किसान र व्यापारीले क्षणिक लाभका लागि काँचो स्याउ बजारमा लिने गरेका छन् । जसका कारण अर्ग्यानिक तथा स्वादिष्ट स्याउको परिचय पाएको जुम्लाको पहिचानै खतरामा परेको छ । 

स्याउमा भर्खर कलर हालेर गुलियोपना भरिँदै छ । तर गाउँ गाउँमा व्यापारी पुगिसकेका छन् । किसान पनि राम्रो मूल्य पाईने सोचमा विक्री गर्ने मनसायमा छन् । हरेक वर्ष काँचो स्याउको निर्यात रोक्ने छलफल र निर्णय भएपनि रोक्न भने चुनौती देखिएको छ ।

पछि राम्रो मूल्य नपाइने र घरमै थन्काएर राख्नु पर्ने बाध्यताले छिटै टिपेर निर्यात गर्ने गरेको किसानको भनाई छ । यद्यपि स्थानीय सरकारले स्याउ खरिदको जिम्मा लिएको खण्डमा असोजसम्म पनि बोटमै राख्न तयार रहेको किसानहरू बताउँछन् । तर किसानको उत्पादनको जिम्मा लिन सरकार तयार छैन । 

जुम्लाका करिब १९ हजार घरधुरी स्याउ खेती गरिरहेको सरकारी तथ्याङ्क छ । यहाँका आठै पालिकामा स्याउ खेती हुन्छ । तर अधिकांश किसानलाई स्याउ बगैँचा व्यवस्थापनबारे ज्ञान नहुँदा श्रमअनुसारको लाभ लिन सकेका छैनन् ।

स्याउ किसानलाई ढुवानीमा सहुलियतदेखि मलजल तथा बगैँचा व्यवस्थापनबारे स्थानीयतहले पनि पर्याप्त सिप सहित प्रविधि दिन सकेको छैन । जुम्लामा ग्रेडिङ मेसिन पनि छैन । जसकारण जुम्लाको स्याउ हचुवामै विक्री हुने र करोडौँ आम्दानी गर्न सकिने सम्भावना भएपनि किसानले घाटा खानु पर्ने बाध्यता छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button