विद्युत् लाइनले ओगटेका नवलपरासीका जग्गाको मुआब्जा दिइँदै
नवलपरासी,पश्चिम् । एमसिए अन्तर्गत बिस्तार गरिएको विद्युत् प्रसारण लाइन विस्तारका क्रममा परेका नवलपरासीका स्थानीयहरूको जग्गाको मुआब्जा दिइने भएको छ । त्यसका लागि जग्गाको मूल्याङ्कनसमेत गरिसकिएको छ ।
नेपाल सरकार मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए-नेपाल) द्वारा सञ्चालित ४४० के.भि. विद्युत् प्रसारणले ओगट्ने जग्गाको मुआब्जा दिन लागिएको हो । मुआब्जा वितरणका लागि नवलपरासीका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठको अध्यक्षतामा रहेको ‘मुआब्जा निर्धारण समिति’ले जग्गाको मूल्य निर्धारण गरिसकेको छ । यो विद्युत् प्रसारण लाइन बर्दघाट नगरपालिका-२ बाट प्रवेश गरेर सुनवल, रामग्राम हुँदै पाल्हीनन्दन गाउँपालिका-१ को महेशपुर (२ किमी पूर्व)सम्म जोडिने छ ।
सुनवल नगरपालिका-१३ को सूर्यबस्तीस्थित न्यू बुटवल सवस्टेसनदेखि नेपाल बोर्डरसम्मको १८.२ किमी दुरीलाई प्रसारण लाइनले छोएको छ । यो विद्युत् प्रसारण लाइन महेशपुरबाट १०२ किमीको दुरीमा रहेको भारतको गोरखपुरसम्म जोडिने अन्तर्राष्ट्रिय प्रसारण लाइन हो । विद्युत् प्रसारण लाइनअन्तर्गत नवलपरासीको बर्दघाट, सुनवल, रामग्राम र पाल्हीनन्दन गाउँपालिकाका विभिन्न स्थानमा १०२ वटा टावर रहने छन् । जसमा हाल ५४ वटा टावरको मूल्याङ्कन भइसकेको छ । ५ वटा टावरमा पर्ने क्षेत्रफलको मूल्याङ्कन प्रक्रियामा छ । बाँकी टावरको मुआब्जा दिन नपर्ने नेपाल सरकारका सार्वजनिक जग्गा छन् ।
मुआब्जा दिइने टावरले कुल ५ बिघा बढी क्षेत्रफल ओगटेको छ । उक्त क्षेत्रफलको मुआब्जा वितरण गर्दा करिब १२ करोड खर्च हुने बताइएको छ । एक व्यक्तिको एक कठ्ठादेखि साढे ४ कठ्ठासम्म जग्गा परेको छ ।
मालपोत कार्यालयले निर्धारण गरेको जग्गाको न्यूनतम मूल्य, स्थानीय तहको मूल्य, चलन चल्तीको मूल्य र बैङ्क तथा वित्तीय संस्थाहरूले निर्धारण गरेको मूल्यलाई आधार बनाएर मुआब्जा निर्धारण गरिएको प्रमुख जिल्ला अधिकारी श्रेष्ठले जानकारी दिनुभयो ।
मुआब्जा वितरणका लागि सार्वजनिक सूचनासमेत निकालिएको छ । भदौको अन्तिम वा असोजको पहिलो सातादेखि मुआब्जा वितरण हुने बताइएको छ । अहिले वितरण गरिने मुआब्जा टावरले ओगट्ने दायाँ/बायाँ २३ मिटरको मात्र हो । त्यस क्षेत्रफलको वरपर स्थायी संरचना र ठूला रुख रोप्न पाइने छैन । टावर राखिसकेपछि अर्को पटक राखिने तारले ओगट्ने जग्गाको फेरि मूल्य निर्धारण गरेर मुआब्जा वितरण गरिने छ ।
विद्युत् प्रसारण लाइन विस्तार गरिने जग्गाहरूको वर्गीकरणका आधारमा मूल्य निर्धारण गरिएको छ । जसअनुसार क, क+, ख, ख+, ग, ग+ घ, घ+, र ङ मा वर्गीकरण गरिएको छ । वर्गीकरण गरिएका जग्गामध्ये रामग्राम नगरपालिका क्षेत्रमा पर्ने वडा नं. १,८,११,१२,१३ र १७ नम्बरका जग्गाहरू क्रमशः ः क+, ख, ग, घ, घ+ र ङ मा परेका छन् । त्यस्तै सुनवल नगरपालिकाको वडा नं. ११,१२ र १३ का जग्गालाई क्रमशः ख, ख+, ग र ग+ वर्गीकरणमा राखिएको छ । बर्दघाट नगरपालिकाको वडा नं. २ को जग्गा ख मा परेको छ । पाल्हीनन्दन गाउँपालिका वडा नं. १,२ र ३ को जग्गालाई ख, ख+, ग र ग+ मा वर्गीकरण गरिएको छ । वर्गीकरणका आधारमा तय गरिएको जग्गाको मूल्य प्रति कठ्ठामा उपलब्ध गराइने छ । जसअनुसार ९ लाखदेखि साढे ४९ लाखसम्म रहेको छ ।
वर्गीकरण गरिएका जग्गामा बस्ती सम्भावना भएका र स्थानीय सडकसँग जोडिएका (भैरहवा भूमही सडक, पूर्वपश्चिम राजमार्गले छोएका जग्गालगायत), पिच बाटोले छोएका, सडक पहुँच र गोरेटो बाटो नभएका तर, सडक किनार ६० मिटर दायरामा रहेका जग्गा, हुलाकी सडकले छोएका जग्गा, पूर्वपश्चिम राजमार्गसँग जोडिएर गएका अन्य शाखा बाटोका दायाँ/बायाँ जग्गा, बगैँचा भएका जग्गा, ग्राभेल बाटो, ग्रामीण बस्ती रहेको, गोरेटो बाटोसँग जोडिएको जग्गा छन् । स्थानीय पक्की बाटोले छोएका जग्गा, कच्ची गोरेटो दायाँ/बायाँ छोएका जग्गाको प्रकृतिका आधारमा वर्गीकरण गरिएको हो । वर्गीकरण गरिएका जग्गाको प्रकृति पालिकाअनुसार फरक रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्