कर्णाली प्रदेश योजना आयोगका पदाधिकारीद्वारा शपथ

सुर्खेत । कर्णाली प्रदेश योजना आयोगका पदाधिकारीले पद तथा गोपनीयताको शपथ लिनु भएको छ ।
प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा आयोगका उपाध्यक्ष सूर्यनाथ योगीलाई पद तथा गोपनीयताको शपथ गराउनु भएको हो । त्यसपछि उपाध्यक्ष योगीले सदस्यद्वय अशोकनाथ योगी र डम्बरबहादुर रावललाई शपथ गराउनु भएको थियो । प्रदेश सरकारको बुधबार बसेको बैठकले पदाधिकारी नियुक्त गरेको हो ।

कर्णाली प्रदेश योजना आयोग (गठन तथा कार्य सञ्चालन आदेश) २०७५ बमोजिम आयोगमा मुख्यमन्त्री अध्यक्ष, प्रदेश सरकारबाट नियुक्त एक जना विज्ञ उपाध्यक्ष, प्रदेश सरकारबाट नियुक्त बढीमा दुई जना विज्ञ सदस्य, प्रमुख सचिव सदस्य र आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव सदस्य–सचिव रहने प्रावधान छ ।
आयोगको उपाध्यक्ष सूर्यनाथ योगी सुर्खेतको वीरेन्द्रनगर–४, का स्थायी बासिन्दा हुनुहुन्छ भने मुगुको छायाँनाथ रारा नगरपालिका–५ का डम्मरबहादुर रावल र रास्कोट नगरपालिका–३ कालिकोटका अशोकनाथ योगी सदस्यमा नियुक्त हुनु भएको छ ।









प्रतिक्रिया राख्नुहोस्