तपाईँ सुन्दै हुनुहुन्छः

गोरखामा दुर्लभ चाइनिज सालक भेटियो

गोरखा । जिल्लाको आरुघाट गाउँपालिकामा दुर्लभ चाइनिज सालक भेटिएको छ । जङ्गलबाट निस्किएर आरुघाट गाउँपालिका-९ धमला चोक स्थित एक स्थानीयको घरमा आएको अबस्थामा चाइनिज सालक भेटिएको डिभिजनल वन कार्यालय गोरखाले जनाएको छ ।

आफ्नो घरमा सालक आएको बारे स्थानीय घरवालाले इलाका प्रहरी कार्यालय आरुघाटमा खबर गरेका थिए । प्रहरीले नियन्त्रणमा लिई सुरक्षित पूर्वक डिभिजनल वन कार्यालय गोरखालाई सो सालक हस्तान्तरण गरेको छ । सो सालकलाई गोरखा नगरपालिका वडा न-९ को उपयुक्त वन क्षेत्रमा छाडिएको डिभिजनले वन कार्यालय गोरखाका सूचना अधिकारी महेश पौडेलले जानकारी दिनुभयो । 

अति सँकटासन्न दुर्लभ सालक बस्ने दुलोमा पानी पसेपछि सालक बाहिर निस्कन्छ । यसरी निस्किएको सालक बाहिर देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए पौडेलले भन्नुभयो । पाखे माछा भनेर चिनिने सालक नेपालमा इण्डियन र चाइनिज दुई प्रजातिका पाइन्छन् । आरुघाटमा भेटिएको सो सालक चाइनिज प्रजातिको रहेको थियो । 

घस्रने जन्तुमा सालक दुर्लभ प्रजाति भएको सरकारले कडा कानून बनाएर संरक्षणको व्यवस्था गरेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार संरक्षित स्तनधारीमा सूचीकृत सालकको अवैध चोरी निकासी गरेमा कडा कारबाहीको व्यवस्था छ । संकटासन्न वनस्पति तथा वन्यजन्तुको अवैध व्यापार नियन्त्रण गर्न बनेको ऐन २०७३ अनुसार यसको अवैध व्यापार गरेमा ५ देखि १० लाख रुपैयाँसम्म जरिबाना तथा ५ देखि १५ वर्षसम्म कैद वा दुवै सजायको व्यवस्था रहेकाे छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button