तपाईँ सुन्दै हुनुहुन्छः

रुपन्देहीको मायादेवीले ४३ दिनपछि ल्यायो बजेट

रुपन्देही । रुपन्देहीको मायादेवी गाउँपालिकाले निर्धारित समयभन्दा ४३ दिन ढिलो बजेट ल्याएको छ । 

असार १० गते स्थानीय तहले बजेट ल्याउनुपर्ने भएपनि आन्तरिक विवादका कारण रोकिएको थियो । उपाध्यक्ष बिरामी परेर जिल्ला बाहिर भएपछि गाउँपालिकाका अध्यक्ष ध्रुवनारायण चौधरीले आर्थिक वर्ष २०८१/०८२ का लागि ६८ करोड ९१ लाख ५३ हजार बजेट प्रस्तुत गर्नुभयो । उपाध्यक्ष नर्वदादेवी उपाध्याय बिरामी भएकाले अध्यक्षले नै बजेट पेश गरेको प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ज्ञवालीले बताउनुभयो ।

प्रस्तुत बजेट अन्तर्गत क्षेत्रगत विनियोजित बजेटमा आर्थिक विकासतर्फ ३ करोड ७९ लाख ३ हजार, सामाजिक विकासतर्फ २० करोड ९५ लाख २० हजार, पूर्वाधारतर्फ २८ करोड ३२ लाख ४१ हजार, वातावरण तथा विपद् व्यवस्थापन विकासतर्फ १ करोड ५१ लख ६१ हजार, संस्थागत विकास तथा सेवा प्रवाहतर्फ १४ करोड ३३ लाख ४३ हजार बजेट विनियोजन गरेको छ ।

गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ का लागि अनुमानित आयतर्फ संघीय समानिकरण अनुदान १३ करोड, संघीय सशर्त अनुदान २७ करोड ७८ लाख ३९, संघीय समपूरक अनुदान १ करोड २५ लाख, संघीय राजश्व बाँडफाँटतर्फ ११ करोड ५१ लाख, प्रदेश समानिकरणतर्फ ९७ लाख १५ हजार, प्रदेश सशर्त अनुदान ८० लाख, प्रदेश राजश्व बाँडफाँड ४७ लाख ९ हजार, आन्तरिक आय जसमा बैङ्क मौज्दातसमेत गरी ११ करोड ६० लाख अनुमान गरिएको प्रस्तुत बजेटमा उल्लेख छ ।

गाउँपालिकाले बजेटमा प्राथमिकता दिने गरी कृषि, शिक्षा र स्वास्थ्यसँगै पूर्वाधार विकासका लागि जोड दिएको छ । व्यावसायिक कृषि पेशा अवलम्बन गरौँ, आत्मनिर्भर बनौँ नारालाई आत्मसाथ गर्दै गाउँपालिकाले व्यवसायीकरण र बजारीकरणका लागि साना कृषक तथा पशुपालकहरुका लागि कार्यक्रम सञ्चालन गर्ने, सिंचांई परियोजनाको विस्तार र आउटलाइट विस्तारका लागि बजेट विनियोजन भएको छ ।

शिक्षा सबैको सरोकार र अधिकार विषय हो: सबैलाई निःशुल्क र गुणस्तरीय शिक्षा पाउनुपर्छ भन्दै गरिब तथा अतिविपन्न विद्यार्थीहरूका लागि छात्रवृत्ति, पुरस्कारजस्ता कार्यक्रम र आवश्यक शैक्षिक सुधार, पूर्वाधारतर्फ बजेट व्यवस्था भएको छ । आमाबुबासँग गाउँपालिका अध्यक्ष कार्यक्रम सञ्चालन गरिने र निर्माणाधीन अस्पताललाई पूर्णता दिने लक्ष्य बजेटमा राखिएको छ ।

गाउँपालिकाभित्र बसोबास गर्ने महिला, दलित, आदिवासी जनजाति, थारु, मुस्लिम, मधेशी, लोपोन्मुख समुदाय, पिछडा वर्ग, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक लगायतका वर्गको उत्थानका लागि बजेट व्यवस्था गरिएको छ । घाँघरा, बेथरी, गुननिया मोतिपुर महजिदियालाई समेट्ने गरी लुम्बिनी सौन्दर्यीकरणका लागि १ करोड बजेट विनियोजन भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button