पर्यटन व्यवसायीद्वारा मन्त्री पाण्डेसमक्ष स्मरण पत्र प्रस्तुत

पोखरा । नेपाल लोकतान्त्रिक पर्यटन व्यवसायी संघ गण्डकी प्रदेश सहित पोखराका पर्यटन व्यवसायीले गण्डकी प्रदेशको पर्यटन क्षेत्रमा विद्यमान समस्या लगायतका विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेसमक्ष स्मरण पत्र प्रस्तुत गर्नुभएकाे छ ।
संघका गण्डकी प्रदेश संयोजक सोमबहादुर थापामगर सहित पोखराका पर्यटन सम्बद्ध क्षेत्रका प्रतिनिधिले विभिन्न विषयमा मन्त्री पाण्डेलाई स्मरण पत्र प्रस्तुत गर्दै समसामयिक विषय बारे जानकारी गराएका हुन् ।
संयोजक थापाले प्रस्तुत गर्नुभएको स्मरण पत्रमा पर्यटनका लागी आवश्यक गुणस्तरीय विकासका लागि पूर्वाधार नभएको भन्दै सडक सञ्जाल कमजोर, विमानस्थल बनेर पनि उडान हुन नसक्नु दुःखदायी अवस्था बताउनु भएको छ ।
प्राकृतिक संकट व्यवस्थापन अर्को चुनौती बनेको उल्लेख गर्दै सङ्घले पूर्वानुमान गर्न नसक्नु र तत्काल रेस्पोन्स गर्न नसक्नुले सरकारी निकाय प्रतिको विश्वास घट्दै गएको बताउनु भएको छ ।
पर्यटन क्षेत्रको बजारीकरण कमजोर बन्दै जानु, पर्यटन बोर्डले आफ्नो कार्य क्षेत्र र उद्देश्य विपरीत बजेट विनियोजन गर्नु, आर्थिक अनियमितता जस्ता विषय समस्याका रुपमा देखिएको जनाइएको छ ।
एउटै व्यवसाय धेरै ठाउँमा दर्ता गर्ने व्यवस्थाले व्यवसायी पटक पटक केन्द्र धाउनुपर्ने अवस्थामा सहजीकरण गर्नुपर्ने, वातावरणीय प्रभावका नाममा व्यवसायीले पाइरहेको दुःख स्मरण पत्रमा उल्लेख गरिएको छ ।
पदयात्रा पर्यटनमा सम्भावना भएका र पदयात्राको हिसाबले ख्याति कमाएका क्षेत्रमा विना अध्ययन निर्मित सडक व्यवस्थित गर्नुपर्ने भन्दै सङ्घले पर्यटकीय क्षेत्रमा मौलिक घरका संरचना संरक्षणका नीति नै बनाएर अघि बढ्नुुपर्ने सुझाइएको छ ।
त्यस्तै पर्यटकसँग लिइने प्रवेश शुल्क एकद्वार प्रणालीबाट उठाइ स्थानीय सरोकारवालाको माग सम्बोधन गर्नुपर्ने, व्यवसायीलाई अझ आकर्षित गर्न उत्प्रेरणा जगाउनुपर्ने, व्यवसायी पलायन रोक्नुपर्ने नेपालमा भएका ट्राभल्स, ट्रेकिंङ्ग र र्याफ्टीङ्ग एजेन्सिजलाई विभिन्न देशमा शाखा खोल्न प्रेरित गर्नुपर्ने लगायतका विषय उल्लेख गरिएको छ ।
विदेशी मुद्रा कारोबारमा डिजिटल भुक्तानी प्रक्रिया सहज बनाउनुपर्ने लगायतका विषयमा सुझाइएको छ । नेपाल एसोसिएसन अफ राफ्टिब एजेन्सिज(नारा) का पूर्व केन्द्रीय अध्यक्ष निम मगरले सरकारले जलयात्राका लागि अनुमतिपत्र दिए पनि ठाउँ ठाउँमा बाँधहरू बनाइँदा आफूहरूको जलयात्रा पर्यटन प्रभावित बनेको बताउनुभयो । उक्त अवसरमा रेष्टुुरेन्ट एण्ड बार एसोसिएसन(रेवान) पोखराका पूर्व अध्यक्ष चौबहादुर गुरुङ , पर्यटन व्यवसायी
सुकबहादुर गुरुङ लगायतले पर्यटन क्षेत्रका समस्या बारे जानकारी गराउनुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्