धनुषामा ९५ प्रतिशत धान रोपाई सम्पन्न
मौसम अनुकूल रहेकाले उत्पादन बढ्ने

जनकपुरधाम । धनुषा जिल्लामा धानको रोपाई ९५ प्रतिशतले सम्पन्न भएको छ । जिल्लामा रहेको ७६ हजार ५ सय ३१ हेक्टर क्षेत्रफल मध्ये धान खेती ४२ हजार ८ सय ५० हेक्टरमा हुने गरेको कृषि ज्ञानकेन्द्र धनुषाका प्रमुख डा. रामचन्द्र यादवले जानकारी दिनु भएको हो ।
कूल कृषि योग्य भूमि मध्ये ३५ हजार १ सय ३५ हेक्टरमा सिँचाई सुविधा पुगेको ज्ञान केन्द्रले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख रहेको छ । धनुषा जिल्लाको पूर्वी क्षेत्रमा कमला सिँचाई योजनाले करिब १२ हजार हेक्टर कृषि योग्य भूमिमा सिँचाई सुविधा प्रदान गरेको छ । यसका साथै डिप तथा स्यालो ट्युबवेल तथा नीजि स्तरको वोरीङ्गवाट गरेर बाँकी क्षेत्रमा सिँचाई सुविधा पुगेको छ । यस पटक समयमा वर्षा भएका कारणले तीव्र गतिमा रोपाई भएको थियो । बाँकी कृषि योग्य भूमिमा पनि खरुहन जातको धान रोपाई हुने क्रम जारी नै रहेको ज्ञान केन्द्रले जानकारी दिएको छ ।
यस पटक धनुषा जिल्लामा सबै भन्दा बढी सोना मंसुलीको खेती भएको छ । किसानको आकर्षण सोना मंसुली प्रति बढी नै रहेको पाइएको ज्ञानकेन्द्रका प्रमुख डा। यादवले जानकारी दिनु भयो । यसका साथै उन्नत जातको स्वर्णा सव १, ललका बासमति, सुख्खा १, २ हर्दिनाथ १, २, ३, ४, ५ र ६, हाइब्रिड जात तथा स्थानीय करिया कमोद जातको धान रोपाई भएको छ ।
यस पटक पटक पटक पानी परेपनि सुरुको जस्तो वर्ष नभएपनि दिन दिनै झरी परेको, रासायनिक मलको अभाव नभएका कारणले धानको उत्पादन बढ्ने विश्वास ज्ञान केन्द्रको रहेको छ । गत वर्ष धनुषा जिल्लामा मात्र १ लाख २० हजार ६ सय ६० मेट्रिक टन धानको उत्पादन भएको छ ।
यस पटक मौसम अनुकूल भएको र निरन्तर वर्षा भएको खण्डमा धानको उत्पादनमा वृद्धि हुने अवस्था रहेको कृषि ज्ञान केन्द्र धनुषाका कार्यालय प्रमुख यादवले जानकारी दिनु भयो ।








प्रतिक्रिया राख्नुहोस्