तपाईँ सुन्दै हुनुहुन्छः

सडक डिभिजन जुम्लाको विकास खर्च ८८ प्रतिशत

जुम्ला । साविक कर्णालीका तीन जिल्लाको सडक पूर्वाधार निर्माण गर्ने सडक डिभिजन जुम्लाको विकास खर्च ८८ प्रतिशत भएको छ । जुम्ला,मुगु र कालिकोट कार्यक्षेत्र रहेको सडक डिभिजनले गत आर्थिक वर्षमा पुँजीगत तर्फ ८८.२५ प्रतिशत खर्च गरेको हो ।

मौसम प्रतिकूलता,भौगोलिक विकटता,जिम्मेवार रुपमा काम नगर्ने ठेकेदार लगायतका चुनौतीबीच सडक डिभिजनको बजेट खर्च सन्दर्भ सन्तोषजनक देखिएको छ ।

सडक डिभिजन जुम्लाले कर्णाली राजमार्गको दैखोला–जुम्ला १०४ किमी,नाग्म–गमगढी सडकको ९३ किमीको स्तरन्नोती सुधार लगायत अन्य आठ वटा ठुला सडक आयोजनाहरू सञ्चालन गर्दै आएको छ ।

गत आर्थिक वर्ष २०८०/०८१ मा पुँजीगत तर्फ  विनियोजित १ अर्ब ४३ करोड ४९ लाख ६६ हजार मध्य असार मसान्त सम्ममा १ अर्ब २५ करोड १८ लाख ९१ हजार अर्थात् ८८ .२५ प्रतिशत बजेट खर्च भएको सडक डिभिजन जुम्लाका निमित्त डिभिजन प्रमुख चेतन कुमार मण्डलले बताउनुभयो । उहाँका अनुसार विनियोजित पुँजीगत बजेट मध्य १८ करोड ३१ लाख बजेट खर्च हुन नसकेर फिर्ता भएको छ ।

त्यस्तै चालुतर्फ विनियोजित  १ करोड ८८ लाख ६० हजार मध्ये १ करोड ४५ लाख १५ हजार अर्थात् ७६. ९६ प्रतिशत चालू खर्च भएको छ । चालू तर्फको ४३ लाख बढी फ्रिज भएको छ ।

डिभिजनको प्रगति विवरण अनुसार तीन जिल्लामा गरि एक वर्षभित्र कालोपत्रे ६ किमी,ग्राभेल ६ किमी,सडक चौडा १० किमी,नयाँ ट्रयाक निर्माण ४ किमी,३० किलोमिटर पटके सडक निर्माण गरिएको सडक डिभिजन जुम्लाका प्रमुख मण्डलले जानकारी दिनुभयो ।

त्यस्तै, कार्यक्षेत्रका तीन वटै जिल्लामा सबैभन्दा धेरै २ सय ३० किलोमिटर ‘नियमित सडक मर्मत’ गरिएको प्रगति विवरणमा उल्लेख छ । भने  आवधिक सडक मर्मत कार्य २ किमी र आकस्मिक सडक मर्मत कार्य ९५ किमी मिटर गरिएको छ ।

बाढी पहिरो आई रहने र पटक पटक सडकहरू अवरुद्ध भई रहने भएकोले नियमित सडक मर्मत कार्य बढी देखिएको हो । अविरल वर्षाका कारण कर्णाली राजमार्ग र नाग्म–गमगढी सडक पटक पटक अवरुद्ध हुने गरेको छ । 

साविक कर्णालीको जनजीवन सँग जोडिएका दुई राजमार्ग खुलाउन र नियमित खाल्डा खुल्डी पुर्ने लगायतका काम गर्न सडक डिभिजनले विशेष प्राथमिकताका साथ सडक मर्मत गर्ने गरेको छ । जसका कारण गत वर्ष सबैभन्दा बढी २ सय ३० किमी सडक नियमित सडक मर्मत कार्य गरिएको सडक डिभिजन जुम्लाले जनाएको छ ।  भने नाग्म–गमगढी सडकको ९३ किमी मध्य ६ किमी सडक कालोपत्रे गरिएको हो ।

साविक कर्णालीको सडक पूर्वाधार विकासलाई गति दिन ठेकेदार पैसालाई मात्र नहेरी आफ्नै गाउँ ठाउँको विकासका लागि जिम्मेवार हुनु पर्ने डिभिजन प्रमुख मण्डल बताउनुहुन्छ । 

उहाँले भन्नुभयो,‘एकातिर बजेट अभाव,दायित्व नै भुक्तानी गर्न समस्या त छदै छन् । तर स्थानीय निर्माण व्यवसायी पनि ईमान्दार काम गर्दैनन् । हरेक वर्ष बजेट अपर्याप्त आउँदा समस्या छ । सबैको साझा पहलले मात्र विकास सम्भव छ । कर्मचारी मात्र खटिएर अपेक्षित उपलब्धी हासिल गर्न मुस्किल छ ।’ 

कुन आयोजनाको बजेट /खर्च कति ?

सडक डिभिजन जुम्लाले एक अर्ब बढी लगानीका आठ वटा सडक आयोजना सञ्चालन गरिरहेको छ । कर्णालीको भौगोलिक विकटतालाई मध्यनजर गर्दै सञ्चालित सडक आयोजनाहरू द्रुत गतिमा बढी रहेका छन् । 

जसमा ‘सुर्खेत–दैलेख बजार–महावुलेक–गाल्जे भात्तडी,रत्तडा–नाग्म–गमगडि– नाक्चेलाग्ना’ सडक आयोजनामा ३५ करोड ५० लाख विनियोजन भएकोमा खर्च २९ करोड ३१ लाख २४ हजार खर्च भएको छ । ‘स्थानीय सडक पुल निर्माण’ तर्फ २ करोड ६३ लाख विनियोजन भएकोमा खर्च २ करोड ५४ लाख ७६ हजार खर्च भएको छ ।

‘रणनीति सडक पुल निर्माण तथा पुल पुलेसा संरक्षण कार्यक्रम’मा १ करोड ३७ लाख विनियोजन भएकोमा एक करोडबढीनै खर्च भएको छ । ‘राजमार्ग स्तरोन्नति तथा पुनर्स्थापना कार्यक्रम’मा ९ करोड विनियोजन भएको थियो । जसमा खर्च ३ करोड ७५ लाख ९३ हजार मात्रै भएको छ । अन्तिम सम्म पनि रकमान्तर नहुँदा बाँकी बजेट कार्यान्वयन हुन सकेन् ।

त्यस्तै ‘मनाङ–मुस्ताङ–डोल्पा– जुम्ला सडक आयोजना’मा ३ करोड ८१ लाख ५० हजार विनियोजन भएकोमा खर्च पनि सबै बजेट भइसकेको छ । यद्यपि उक्त आयोजनामा बजेट अभाव देखिएको छ ।

‘वैकल्पिक सहायक मार्ग निर्माण कार्यक्रम’ ३ करोड १८ लाख ६० हजार विनियोजन भएकोमा खर्च १  करोड ७२ लाख ७७ हजार खर्च भएको छ । यो आयोजनामा रकमान्तर नहुँदा बाँकी बजेट फ्रिज गएको छ । निर्माण क्षेत्र रणनीति सडकका लागि ५ करोड ५० लाख विनियोजन भएकोमा खर्च सोही बजेट भएको छ । जुम्लामा संघ तर्फ निर्वाचन क्षेत्र एउटा मात्रै रहेको छ ।

सडक बोर्ड नेपाल अन्तर्गतको आकस्मिक मर्मत कार्यका लागि ७३ करोड ८९ लाख १६ हजार मध्य असार अन्तिम सम्ममा ६८ करोड १० लाख ५३ हजार खर्च भएको प्रगति विवरणमा उल्लेख छ ।

कर्णाली राजमार्ग र नाग्म–गमगढी सडक सडक सञ्चालन भएको वर्षाै बित्दा पनि सङ्घीय सरकारले प्राथमिकता नदिनु र जुम्ली सांसदहरु एकजुट भएर पहल कदमी नगर्दा सडक हिउँद धुलाम्य र बर्खामा हिलाम्य हुने गरेको छ । सडक स्तरोन्नति नहुँदा जोखिम मोलेर कर्णाली बासी यात्रा गर्न बाध्य छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button