तपाईँ सुन्दै हुनुहुन्छः

इजरायलले विद्यालयमा गरेको आक्रमणमा ३० को मृत्यु

गाजा पट्टी (प्यालेस्टिनी अधीनस्थ क्षेत्र)। गाजाको नागरिक सुरक्षा एजेन्सीले आइतबार गाजा शहरका दुई विद्यालयमा इजरायली हमलामा कम्तीमा ३० जनाको मृत्यु भएको जनाएको छ । इजरायली सेनाले भने हमासको कमान्ड सेन्टरमा आक्रमण गरेको बताएको छ ।

यो आक्रमणसँगै गाजामा जुलाई ६ यता हमला हुने विद्यालयको सङ्ख्या कम्तीमा ११ पुगेको छ । यसमा हमासद्वारा सञ्चालित क्षेत्रका अधिकारीहरूले यसअघि दिएको सङ्ख्याको आधारमा करिब एक  सय ५० जना मारिएका छन् ।

“हसन सलामेह नरसंहार र अल–नासर विद्यालयमा भएको बम विष्फोटमा शहीद हुनेको सङ्ख्या ३० पुगेको छ, दर्जनौँ घाइते पनि भएका छन्”, नागरिक रक्षाका प्रवक्ता महमुद बासलले भन्नुभयो । मृतक र घाइते हुनेमा अधिकांश महिला तथा बालबालिका रहेका छन् । 

उहाँले इजरायल र हमास लडाकुहरूबीच चलिरहेको युद्धमा घरबाट विस्थापित प्यालेस्टिनीहरूलाई स्कूलहरूले आवास प्रदान गरिरहेको बताउनुभयो । 

इजरायली सेनाले दुई विद्यालयलाई लक्षित गरी आक्रमण गरेको पुष्टि गरेको छ । “हमासको अल–फुरकान बटालियनले आफ्नो आतङ्कवादीहरूलाई लुक्ने र कमान्ड सेन्टरका रूपमा स्कुलहरूको प्रयोग गरिरहेको थियो”, सेनाले विज्ञप्तिमा भनेको छ 

नागरिक सुरक्षा एजेन्सीका अनुसार शनिबार गाजा सहरमा अर्को स्कुल परिसरमा इजरायली सेनाले यस्तै आक्रमण गर्दा कम्तीमा १७ जनाको मृत्यु भएको जनाएको छ । 

इजरायली सेनाले बारम्बार हमासलाई कमान्ड र कन्ट्रोल सेन्टरका रूपमा वा आफ्ना कमान्डर र लडाकूहरूलाई लुकाउनका लागि नागरिक सुविधाहरू प्रयोग गरेको आरोप लगाउँदै आएको छ । यसलाई प्यालेस्टिनी समूहले अस्वीकार गर्दै आएको छ ।एएफपी

प्रतिक्रिया राख्नुहोस्

Back to top button