‘कला विधामा खोजी पत्रकारिताको अभाव’
काठमाडौँ । सरोकारवालाहरुले मूलधारको पत्रकारितामा कला क्षेत्रले उचित स्थान नपाएको धारणा व्यक्त गर्नुभएको छ । यहाँ जारी ‘किताब जात्रा’को दोस्रो दिन ‘मूलधारबाट सधैँ उपेक्षित कला’ विषयक छलफलमा सरोकारवालाले मूलधारको पत्रकारितामा कलासम्बन्धी समाचारको सङ्ख्या बढाउनुपर्नेमा जोड दिनुभयो ।

देश सञ्चार डटकमका सम्पादक युवराज घिमिरेले अहिले मूलधार केलाई भन्ने बहस सुरु भएकाले पहिले त्यसमा स्पष्ट हुनुपर्नेमा जोड दिनुभयो । यद्यपि कला क्षेत्रमा खोज पत्रकारिताको अभ्यास कम भएकाले पनि उचित स्थान नपाएको हुनसक्ने उहाँको बुझाइ थियो । “मूलधारको पत्रकारिताले कला क्षेत्र उपेक्षामा राखेको आभास हुने गरेको छ, पछिल्लो समय त पत्रिकाबाट कला पृष्ठ पनि हटिसकेको अवस्था छ”, घिमिरेले भन्नुभयो, “मूलधारका सञ्चार माध्यममा कलासम्बन्धी समाचार कति सङ्ख्यामा प्रकाशित भए र कुन स्थान पाए भन्नेभन्दा पनि उक्त सामग्री पठनीय छ वा छैन भन्नेले महत्व राख्छ ।”
राष्ट्रिय समाचार समिति (रासस)का पत्रकार मधु शाहीले पत्रकारितामा कलासम्बन्धी समाचारलाई महत्व दिनुपर्ने उल्लेख गर्दै कलाले समाजप्रतिको सोचाइको दायरा फराकिलो बनाउन सहयोग पुर्याउनेमा जोड दिनुभयो ।
उहाँले कलामा रुचि राख्नेहरूको समाजप्रतिको धारणा फराकिलो हुने गरेको बताउनुभयो । कलालाई व्यावसायिक रूपमा मात्रै हेर्ने र सम्पादकीय प्राथमिकतामा नपर्ने हुँदा यसले कम प्राथमिकता पाएको हुनसक्ने उहाँले उल्लेख गर्नुभयो ।
चलचित्र निर्देशक एवं कलाकार सुव्रत आचार्यले आर्थिक लगानी बढी हुने कलासम्बन्धी समाचारले मूलधारका सञ्चार माध्यममा बढी स्थान पाउने गरेको विचार व्यक्त गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्