तपाईँ सुन्दै हुनुहुन्छः

प्राधिकरणका कर्मचारी कुटिए

सङ्खुवासभा। नेपाल विद्युत् प्राधिकरण कार्यालय सङ्खुवासभाको शाखा कार्यालय मादीका इन्चार्जसहित दुईजना कर्मचारीमाथि कुटपिट भएको छ । 

विद्युत् महसुल नतिरेपछि लाइन काटेको जनाउँदै लाइन जोड्न धम्की दिँदै कर्मचारीमाथि कुटपिट भएको शाखा कार्यालयका प्रमुख शत्रुधन यादवले जानकारी दिनुभयो । उहाँका अनुसार इन्चार्ज राजकुमार राई र प्रदीप जिमी यही साउन १५ गते कुटपिट भएको थियो । 

कुटपिट गरेको आरोपमा मादी नगरपालिका–४ ओखरबोटका स्थानीय लक्ष्मण लिङ्थेप र हर्कहाङ लिम्बू विरुद्ध इलाका प्रहरी कार्यालय चैनपुरमा मुद्दा दर्ता भएको 

कार्यालयका प्रहरी निरीक्षक बाबुराम कार्कीले जानकारी दिनुभयो । “निजहरू विरुद्ध अभद्र व्यवहार शीर्षकमा मुद्दा दर्ता भएको छ । उजुरी लगत्तै उहाँहरू फरार भएकाले खोजी कार्य भइरहेको छ”, उहाँले भन्नुभयो ।

विद्युत् महसुल नतिरेर लाइन काटिएको विषयमा विवाद हुँदा राई र जिमीमाथि गाली गलौज, हातपात तथा कुटपिट भएको थियो । स्थानीय लिङ्थेपको क्रसर उद्योगले रु छ लाख ४० बक्यौता नतिरेपछि प्राधिकरणले लाइन काटेको प्रमुख यादवले बताउनुभयो । कर्मचारीमाथि कुटपिट भएपछि मादीस्थित शाखा कार्यालय गत साउन १५ गतेदेखि बन्द छ ।

उक्त कार्यालयमा छजना कर्मचारी कार्यरत छन् । शाखा कार्यालय बन्द भएपछि सेवाग्राही मारमा परेका छन् । कर्मचारीमाथि कुटपिट भएपछि अन्य कर्मचारी त्रासमा रहेकाले कार्यालय बन्द गरेर सदरमुकाम आएका छन् । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button