तपाईँ सुन्दै हुनुहुन्छः

राई भाषाहरूको साझा पत्रिका ‘खुवालुङ’ को लोकार्पण तथा ‘पानीपतिया’ को विमर्श 

काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले किरात राई जातिमा बोलिने भाषाहरूको पत्रिका ‘खुवालुङ’को लोकार्पण गर्नुभएको थियो ।

उक्त पत्रिका प्रज्ञा-प्रतिष्ठान साहित्य मातृभाषा विभागले प्रकाशित गरेको हो । बेलायतलाई कार्यक्षेत्र बनाउँदै आएका साहित्यकार काङमाङ नरेश राईद्वारा लिखित निबन्धात्मक कृति ‘पानीपतिया’ का बारेमा समालोचक डा.तारालाल श्रेष्ठले ‘पानीपतिया’ गोर्खा भर्तीको सांस्कृतिक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

कुलपति राईले काङमाङ नरेश राईद्वारा लिखित ‘पानिपतिया’ ले गोर्खा सैनिकले भोग्नुपरेको सामाजिक र सांस्कृतिक विभेदलाई मसिनोसँग केलाएका छन् । युगअनुसार उत्पादन हुने संस्कृतिले समाजलाई कस्तो असर पार्छ । त्यसबारे गम्भीर हुनुपर्ने बताउँदै राई भाषाहरूको साझा पत्रिका ‘खुवालुङ’ प्रकाशन प्राज्ञिक र सांस्कृतिक रूपमा उपलब्धि भएको बताउनुभएको थियो ।

प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव डा धनप्रसाद सुवेदीले नेपालमा बोलिने सबै भाषाहरूको संरक्षण गर्ने दायित्व प्रज्ञा-प्रतिष्ठानको भएकाले राई भाषाहरूको साझा पत्रिकाको रूपमा ‘खुवालुङ’ प्रकाशित गरिएको हो । प्रतिष्ठानले सबै भाषा र साहित्यको खोज अनुसन्धान गर्द‌ै जाने बताउनु भएको थियो । उहाँले काङमाङ नरेश राईद्वारा रचिएको ‘पानीपतिया’ले गोर्खा सैनिकले झेल्नुपरेको असमान सांस्कृतिक पीडालाई व्यक्त गरिएको बारे बहस हुनु सान्दर्भिक रहेको बताउनु भएको थियो ।

प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा साहित्य (मातृभाषा) विभाग प्रमुख राजन मुकारुङले ‘खुवालुङ’ राई जातिहरूको साझा पत्रिका हो । यसले राईहरूको संस्कृति र साहित्य लगायतका विषयलाई उजागर गर्दै जाने बताउनु भएको थियो । मुकारुङले काङमाङ नरेश राईद्वारा लिखित ‘पानीपतिया’ले गोर्खा सैनिक भर्तीमा गएकाहरूले भोग्नुपरेका कतिपय विभेदको चित्रण गरेको बताउनुभएको थियो ।

कार्यक्रमका सभाध्यक्ष,प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा सामाजिकशास्त्र विभाग प्रमुख डा.कौशिला रिसालले साहित्यकार काङमाङ नरेश राईको निबन्धात्मक कृति ‘पानीपतिया’ले गोर्खा भर्तीमा गएका नेपालीहरूले भोग्नुपरेको सांस्कृतिक विभेद र असमानता के कस्तो छ ? भन्ने बारे चित्रण गर्दछ ।’पानीपतिया’ले सिङ्गो नेपाली समाजलाई पारेको असरबारे थप अध्ययनको आवश्यकता रहेको बताउनुभएको थियो ।

प्रज्ञा-प्रतिष्ठानका प्रज्ञासभा सदस्य चेतनाथ धमलाकाअनुसार उक्त कार्यपत्र प्रस्तुत गर्दै डा. तारालाल श्रेष्ठले गोर्खा भर्तीको तस्बिर, गोर्खा भर्तीको सांस्कृतिक असर, सार्वजनिक वृत्तमा गोर्खा समुदाय र सहअस्तित्वको बारेमा चर्चा गर्नु भएको थियो । कार्यपत्रमाथि नारायणी देवकोटा र गुरुङ सुशान्तले टिप्पणी गर्नुभएको थियो ।सहभागीका तर्फबाट सन्जोग लाफा मगरले ‘पानीपतिया’बारे जिज्ञासा राख्नुभएको थियो ।

‘पानीपतिया’का सर्जक काङमाङ नरेश राईले प्रश्नैप्रश्नहरूबिच उभिएर आफूले खोजमूलक कृति प्रकाशन गरेको बताउँदै गोर्खा भर्तीमा गएकाहरूले सामाजिक र सांस्कृतिक रूपमा धेरै अन्याय भोग्न विवश हुँदै आएको इतिहास छ । यस विषयमा इतिहासकार र प्राध्यापक डाक्टरहरूले कलम चलाउनुपर्नेमा जोड दिनुभएको थियो । कार्यक्रमको उद्घोषण योगविद् तथा प्रज्ञा-प्रतिष्ठान सामाजिकशास्त्र विभागका सदस्य डा.टिपी धमलाले गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button