विदेशको सिप स्वदेशमा सदुपयोग
चार बिघामा च्याउ खेती गर्दै कमल

चितवन । चितवनको कालिका नगरपालिका वडा नम्बर-२ मा चार बिघामा च्याउ खेती गरिएको छ । काठमाडौँ निवासी कमल प्रसाद सुबेदीले पाते च्याउ र डल्ले च्याउ डेढबर्ष अघिदेखि च्याउ उत्पादन गर्न थाल्नु भएको छ । उहाँको फार्ममा १०५ वटा पाते च्याउको टनेल र वातानुकुलित १२ वटा टनेलमा डल्ले च्याउको उत्पादन गरिएको छ । पाते च्याउको उत्पादन बजारमा जान थालिसकेको छ भने डल्ले च्याउको उत्पादन केही समयपछि बजार पठाउने सुबेदीले बताउनु भयो । रेन्स्की एग्रो फार्म प्रालि नामको कम्पनी बाट सञ्चालित यो फार्ममा हालसम्म जग्गा बाहेक ७ करोड लगानी भइसकेको उहाँले बताउनु भयो । च्याउ खेतीका लागि बिहानै पांँचबजेदेखि साँझ अबेरसम्म पनि उहाँ व्यस्त हुनुहुन्छ । विदेशमा सीप सिकेर हाल अहिले उहाँ स्वदेशमै रमाउन थाल्नु भएको छ र मनग्य कमाउन पनि थाल्नु भएको छ ।

च्याउ खेती उनले विना अनुभव एक्कासी सुरु गर्नुभएको भने होइन, उहाँले झण्डै २२ बर्ष विदेशमा काम गरेको अनुभवले यो सफलता हासिल गर्नुभएको हो । ‘मैले २२ वर्षमा बेल्जियम, मिडलइष्ट लगायतका देशहरूमा च्याउसम्बन्धी कामबाट नै अहिले यहाँ च्याउ खेती गर्न सफल भएको हुँ । सुबेदी भन्नुहुन्छ । मैले च्याउ खेती बाहेक अहिलेसम्म अरू काम छोएकै छैन ।’

सुबेदी यो देशमा अहिले त्यसै अडिनु भएको पनि होइन । ‘म कोरोनामा घर आए, त्यसपछि नेपालमै च्याउ खेती शुरु गरेँ ।’ उहाँले भन्नुभयो । नेपाल हुँदा बुटवलको च्याउ फार्ममा पनि आफूले काम गर्ने अवसर पाएको र त्यही अनुभवबाट एकल लगानीमा चितवनमा शुरु गरेको सुबेदीले जानकारी दिनुभयो ।
काठमाडौँ धेरै जग्गा एकै ठाउँमा नपाइने भएकोले आफन्तहरू चितवन भएकोले आफूले चितवनमा च्याउ खेती शुरु गरेको उहाँको भनाई छ । चार बिघा जग्गा मध्ये साँढे तीनविघा उनले भाडामा लिएका हुन भने १० कठ्ठा जमिन उनले च्याउ खेतीकै कमाई बाट किन्नु भएको हो ।
हाल गर्मी याममा दैनिक पाँच क्विन्टल उत्पादन हुने र जाडो याममा दैनिक १५ क्विन्टलसम्म उत्पादन हुने गरेको उहाँले बताउनु भयो । ‘गर्मी याममा उत्पादन कम हुन्छ, रेट पनि महँगो हुन्छ, उनले भने, जाडो याममा उत्पादन बढी र रेट पनि कम हुन्छ ।’ हाल उहाँको उत्पादन चितवनकै बजारमा जाने गरेको र केही उत्पादन काठमाडौँ सम्म जाने गरेको छ । ‘मैले अहिले एकजना डिलरसँग मात्रै कारोबार गरेको छु, उहाँले नै सबै उत्पादन खरिद गर्नुभएको छ ।’ सुबेदीले भन्नुभयो । च्याउको माग उच्च रहेकोले आफूले माग धान्न नसकेको उहाँको भनाई छ । च्याउको बीउ उत्पादन, टिस्यु कल्चरिङ्ग, प्रोसेसिङ्ग लगायतका काम यही फार्ममा हुने गरेको छ ।
उहाँको फार्ममा अहिले १५ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् भने ५० जनाले अप्रत्यक्ष रोजगारी पाएका छन् । विदेशमा यस्ता सीप सिक्न जानु उपलब्धिमूलक भएको भन्दै विदेश जानु नराम्रो नभईकन विदेशमा पलायन हुन नराम्रो भएको उहाँको बुझाई छ । ‘विदेश जानु नराम्रो होइन, जुनसुकै फिल्डमा सिप सिकेर त्यो सिप स्वदेशमै लगानी चाहिँ गर्नुपर्छ ।’ सुबेदीले भन्नुभयो ।आगामी दिनमा माग अनुसार च्याउ उत्पादन विस्तार गर्दै लैजाने योजना रहेको उहाँले बताउनु भयो ।








प्रतिक्रिया राख्नुहोस्