सिटीइभिटीको तत्काल पुनर्संरचना गरिने : मन्त्री भट्टराई

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटीइभिटी)को तत्काल पुनर्संरचना गरिने बताउनुभएको छ ।
प्रतिनिधिसभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको आज संसद् सचिवालय सिंहदरबारमा बसेको बैठकमा मन्त्री भट्टराईले चिकित्सा शिक्षा आयोगसँग समन्वयन गर्ने सन्दर्भमा विगतदेखि नै कमजोरी देखिँदै आएकाले अब बस्ने सिटीइभिटी परिषद् बैठकले नै पुनर्संरचनाको प्रस्ताव पारित गर्ने जानकारी गराउनुभयो ।
एक सय बेडको आफ्नै अस्पताल रहेका शिक्षण संस्थाहरूले मात्रै नर्सिङ पढाउन स्वीकृति पाउने कानूनी प्रावधानले जटिलता ल्याएकाले चिकित्सा शिक्षा ऐन पनि संशोधन गरिने मन्त्री भट्टराईले स्पष्ट पार्नुभयो ।
बैठकमा सांसदहरुले सिटीइभिटी र चिकित्सा शिक्षा आयोगबीच देखिँदै आएको विवादको सिकार विद्यार्थीहरू हुनुपरेको भन्दै सरकारले तत्काल समाधान खोज्नुपर्नेमा जोड दिनुभयो ।
बैठकमा चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा.अञ्जनीकुमार झाले मेडिकल शिक्षा अरू व्यावसायिक शिक्षाभन्दा फरक भएकाले कानून अनुसार प्रक्रिया पुगेका कलेजहरूलाई मात्रै सम्बन्धन स्वीकृति दिएको बताउनुभयो ।
त्यसैगरी, सिटीभिइटीका सदस्यसचिव महेश भट्टराइले प्रक्रिया नपुगेका र एक सय बेड आफ्नै अस्पताल नभएका ६३ वटा शिक्षण संस्थालाई नर्सिङ पढाउन स्वीकृति नदिइएको जानकारी गराउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्