तपाईँ सुन्दै हुनुहुन्छः

नुवाकोटमा बाढीले सयौँ रोपनी धानखेत बगरमा परिणत

नुवाकोट । कोशी खोलामा आएको बाढीले नुवाकोटको तारकेश्वर गाउँपालिका–२ स्थित पिमलटारको सयौँ रोपनी धानखेत बगरमा परिणत भएको छ ।

नुवाकोट र धादिङको सीमा हुँदै बगेको कोशी खोलामा बुधबार आएको बाढीले पिमलटारस्थित फाँटमा पस्दा एक सय परिवार किसानको पाँच सय ५० रोपनीभन्दा बढी खेतमा लगाएको धानखेत (रोपो) पूरै क्षति गरेको हो ।

ग्रेगरसहितको लेदो बाढी धानखेतमा पसेर बगरमा परिणत बनाएको स्थानीय किसान आरबी नेपालले जानकारी दिनुभयो । उहाँको अनुसार किसानले असारमा रोपेको धानबालीमा केही दिनअघि रासायनिक मल राखेर हरियाली बनाएको रोपो अधिकांश नष्ट भएको छ ।

“बाढी रोकिएपछि रोपो उठाउन कोशिस गरेपनि ग्रेगर सहितको बालुवा र लेदोले पुरेकाले अधिकांश क्षति पुगेछ ।” उहाँले भन्नुभयो “दुई सय रोपनी खेतलाई क्षति पुर्‍याउँदै अहिले खोला बगिरहेको छ भने चार सय रोपनी खेतमा लगाएको रोपोलाई क्षति पुर्‍याएर बालुवा र ग्रेगर भरिएका छन् ।”

बाढीको कारण स्थानीय समाजसेवी जनक ढुङ्गानाले व्यक्तिगत लगानीमा केही वर्षअघि निर्माण गर्नुभएको झोलुङ्गे पुलमा समेत क्षति पुगेको छ । पुलको एकतर्फी पिल्लर बगाएसँगै पुलबाट आउजाउ गर्न नहुने भएको छ ।

त्यस्तै, स्थानीय किसान अरुण राईले व्यावसायिक रुपमा गर्दै आउनुभएको माछा खेतीको पोखरीमा पनि बाढी क्षति पुर्याएको छ । उहाँले पालन गरेको दश वटा पोखरीमा कोशाी खोला पसेर माछा प्रभावित बनाएको छ भने पोखरीमा ग्रेगर भरिएको छ ।

तारकेश्वर गाउँपालिका अध्यक्ष शिव अधिकारी (अविरल)ले क्षति पुगेको स्थानमा आवश्यक अनुगमन र क्षतिको लगत लिएर किसानलाई पुगेको नोक्सानप्रति सम्बोधन गर्ने जानकारी दिनुभयो ।

उहाँकाअनुसार थप क्षति हुन नदिन र अहिले पुगेको क्षतिको लगत सङ्कलन गर्न प्रभावित स्थानमा प्राविधिकलाई खटाइएको छ ।
“प्राविधिक प्रतिवेदन र स्थलगत अनुगमन गरेर पीडित किसानलाई राहत र तत्कालै पुनः खेती लगाउने विषयमा अध्ययन गर्नेछौ ।” पालिका अध्यक्ष अधिकारीले भन्नुभयो “आगामी दिनमा खोलालाई खेतमा पस्न नदिन आवश्यक संरचना बनाउनको लागी ध्यान दिनेछौ ।”

प्रतिक्रिया राख्नुहोस्

Back to top button