राष्ट्रपतिबाट डा.डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार वरिष्ठ पत्रकार रिसाललाई र अन्तर्राष्ट्रिय शान्ति पुरस्कार जाइकालाई प्रदान
काठमाडौँ । वरिष्ठ पत्रकार भैरव रिसालले डा.डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार २०८० प्राप्त गर्नुभएको छ ।

यस्तै डा.डिल्लीरमण रेग्मी अन्तर्राष्ट्रिय शान्ति पुरस्कार २०८० बाट जापानी सहयोग नियोग जाईका सम्मानित भएको छ ।
राष्ट्रपतिको कार्यालय शीतल निवासमा डिल्लीरमण कल्याणी रेग्मी स्मारक पुस्तकालय विकास समितिले आज आयोजना गरेको पुरस्कार वितरण समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले वरिष्ठ पत्रकार भैरव रिसाललाई एक लाख रुपैयाँ राशि र सम्मानपत्र सहितको डा.डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार २०८० प्रदान गर्नुभयो ।
यस्तै राष्ट्रपति पौडेलले जाईकालाई प्रदान गर्नुभएको डा.डिल्लीरमण रेग्मी अन्तर्राष्ट्रिय शान्ति पुरस्कार २०८० जाईका नेपालका प्रमुख प्रतिनिधि ओकुबो अकिमित्शुले ग्रहण गर्नुभयो ।

पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक स्थायित्व, विकास र सुशासनको माध्यमबाट देशलाई समृद्धिको बाटोमा लैजानुपर्ने बताउनुभयो ।
राष्ट्रपति पौडेलले आफूसँग भएको क्षमतालाई देश र जनताको हितका लागि सबैले समर्पित गर्नुपर्ने आवश्यकता औँल्याउँदै डा. डिल्लीरमण रेग्मीले आफ्नो सम्पूर्ण जायजेथा देश हितका लागि सरकारलाई हस्तान्तरण गर्नुभएको कुरालाई सबैले मनन गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो ।
राष्ट्रपति पौडेलले शान्ति अहिंसा स्वतन्त्रता र लोकतन्त्रको पक्षधर डा रेग्मीको योगदान नेपालको शिक्षा क्षेत्रमा प्रेरणादायी रहेको र यसले असल काममा लाग्न सधैँ प्रेरित गर्ने पनि बताउनुभयो ।
राष्ट्रपति पौडेलले नेपालको शिक्षा खानेपानी स्वास्थ्य गरिबी निवारणको क्षेत्रमा जाइकाको सहयोगको सराहना गर्दै जाईका जस्तो अन्तर्राष्ट्रिय निकायलाई पुरस्कृत गर्न पाउँदा खुशी लागेको बताउनुभयो ।

कार्यक्रममा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले डिल्लीरमण कल्याणी रेग्मी स्मारक पुस्तकालयलाई थप व्यवस्थित र प्रविधि मैत्री बनाउने गरी सरकारले काम सुरु गरेको बताउनुभयो ।
समारोहमा शिक्षा सचिव दिपक काफ्ले, डा डिल्लीरमण कल्याणी रेग्मी स्मारक पुस्तकालय विकास समितिका अध्यक्ष गोपाल छ्याग्छा राई, पूर्व अध्यक्ष डा. ध्रुवकुमार घिमिरे लगायतका वक्ताहरूले त्यस पुस्तकालयबाट विभिन्न वर्ग र तप्काका व्यक्तिहरूले लाभ लिन पाएकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा पुस्तकालयलाई अझ प्रभावकारी ढंगले अगाडि बढाइने बताउनुभयो ।
तस्वीर : राष्ट्रपतिको कार्यालय







प्रतिक्रिया राख्नुहोस्