तपाईँ सुन्दै हुनुहुन्छः

मधेशका जिल्लाहरूमा मधुश्रावणी पर्वको रौनकता

जनकपुरधाम । मिथिलाञ्चलसहित तराई मधेशका जिल्लाहरूमा नव विवाहिता कन्याले प्रत्येक वर्ष मनाउने मधुश्रावणी पर्वको रौनकता सुरु भएको छ ।

साउन महिनाको कृष्णपक्ष पञ्चमी तिथिबाट शुरु भएको मधुश्रावणी पर्व १३ दिनसम्म चल्ने गर्छ ।

प्रत्येक दिन साँझ नव विवाहिता कन्याहरु रातो, पहेँलो तथा निलो सारी, चोला सहितका गरगहनाहरू लगाएर समूहमा भेला भएर विभिन्न प्रकारका परम्परागत गीतहरू गाउँदै गाउँ तथा वस्तिका सार्वजनिक उद्यान, मठ मन्दिरमा भेला भएर विभिन्न प्रकारका फूलहरू रङ्गी चङ्गी डालीमा टिप्ने गरिन्छ जसलाई स्थानीय भाषामा “फूल लोढी” भनिन्छ ।

साउन १० गते बिहीबारदेखि शुरु भएको मधुश्रावणी पर्व अगामी साउन २३ गते तृतीया तिथिका दिन समापन हुने कार्यक्रम रहेको छ । यस पर्वमा नव विवाहिता कन्याले १३ दिनसम्म अरवे अरवाइन नुन रहित खाना खाने चलन रहेको छ । मधुश्रावणी पर्वमा नव विवाहिता कन्याका लागि १३ दिनसम्म पुग्ने खाद्यान्न, लत्ता कपडा तथा पूजाका कतिपय सामाग्रीहरू माइतबाट आउने गर्दछन् ।

१३ औँ दिन अर्थात् पर्वको समापनका दिन विशेष रुपमा पूजापाठ गर्ने गरिन्छ । यस दिन कन्याको माइतबाट आएका कोसेली चना, च्युरा, दशी, मिष्ठान्न, फलफूल सहितका परिकारहरू छरछिमेक, १३ दिनसम्म साथ दिने सखी बहिनपा, इष्टमित्र सहितका व्यक्तिहरूलाई वितरण गर्ने चलन छ ।

पतिको दीर्घायु, सुस्वास्थ्य, समृद्धिको कामनासहित मनाइने मधुश्रावणी पर्व प्रत्येक वर्ष अत्यन्तै पवित्र मानिएका साउन महिनामा मनाउने गरिन्छ । यस पर्वमा सावित्री–सत्यवान्, शङ्कर–पर्ववति, राधा–कृष्ण, राम–सीताको कथा सुन्ने चलन रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button