तपाईँ सुन्दै हुनुहुन्छः

पूर्वाधारको प्रगतीः एक वर्षमा १७ किमी सडक ग्राभेल

जुम्ला । जुम्लामा पूर्वाधार विकास कार्यालयले एक वर्षमा १७ किलोमिटर सडक ग्राभेल गरेको छ । भने दुई किलोमिटर सडक कालोपत्रे गरेको छ । कार्यालयको वार्षिक प्रगति विवरणअनुसार गत आर्थिक वर्ष २०८०/८१ मा जिल्लाको कार्यक्षेत्रमा १७.९४ किमी सडक ग्राभेल र २.६३ किमी सडक कालोपत्रे गरेको हो । 

त्यस्तै माटे कच्ची सडक १७.३० किमी निर्माण गरेको छ । सडक स्तरोन्नति तथा नाला निर्माण ३१ मिटर गरिएको छ । बहुवर्षिय योजनामा विशेष प्राथमिकता दिएको पूर्वाधार कार्यालयले टुक्रे योजनाका कारण अपेक्षित उपलब्धी हासिल गर्न सकेको छैन । 

भौगोलिक विकटता,बजेट अभाव,मौसम प्रतिकूलता लगायतका चुनौतीका बीच पनि पूर्वाधार कार्यालयले १७ किमी दुर्गमको सडक ग्राभेल गरेको छ । भने २ किलोमिटर सडक कालोपत्रे तथा पक्की बनाएको छ । भौगोलिक विकटताले यात्रामा असहजता भोग्दै आएका स्थानीयले दुर्गम क्षेत्रमा ग्राभेल तथा पक्की सडक बनेपछि राहत पाएका छन् । 

त्यस्तै, गत आवमा ३ वटा झाेलंगे पुल,१ वटा सडक पुल,११ वटा जनता आवासका घर  र ९ वटा विपन्न आवासका घर निर्माण गरिएको पूर्वाधार कार्यालय जुम्लाको प्रगति विवरणमा उल्लेख छ । 

प्रदेश सरकार बाट समानीकरण,सर्शत र समपूरक अनुदान मार्फत प्राप्त बजेटले विभिन्न भौतिक संरचना निर्माणको काम गरिएको पूर्वाधार विकास कार्यालय जुम्लाका प्रमुख पदम देवकोटाले बताउनुभयो । 

हामीले बहुवर्षिय आयोजनामा विशेष जोड दिएका छौ । वर्षौपछि भैसेडी पक्की पुल पनि निर्माण सम्पन्न भएको छ । उहाँले भन्नुभयो,‘प्रदेश र स्थानीय तहको समन्वयलाई प्रभावकारी बनाएको खण्डमा प्रदेशका योजना कार्यान्वयनमा सहज हुने देखिएको छ । भने टुक्रे योजनालाई पनि अन्त्य गरिनु पर्छ । विभिन्न समस्याकाबीच हामीले बजेट कार्यान्वयन सन्तोषजनक रुपमा गरेका छौ ।’

साथै पूर्वाधार कार्यालय जुम्लामा गत आवमा विनियोजित ५७ करोड ३२ लाख ४२ हजार मध्ये ४२ करोड ५३ लाख ४ हजार अर्थात् ७४.९३ प्रतिशत बजेट खर्च भएको छ । भने झण्डै १५ करोड बढी बजेट खर्च हुन नसकेर फिर्ता भएको छ । 

जसमा पुँजीगत तर्फ विनियोजित ५६ करोड ७८ लाख बजेट मध्य ४१ करोड ९७ लाख ९१ हजार अर्थात् ७४.८६ प्रतिशत खर्च भएको छ । भने,चालु तर्फ विनियोजित एक करोड २४ लाख ५४ हजार मध्य ९७ लाख ४२ हजार खर्च भएको देखिन्छ । 

कार्यालयले तातोपानी,सिंजा र तिला गाउँपालिकाका नागरिक लाभान्वित हुने गरी तीनवटा पालिकामा झोलुङ्गे पुल निर्माण गरिएको कार्यालय जनाएको छ । 

त्यस्तै समानीकरण अनुदानबाट २८ वटा, शसर्त अनुदानका १७ योजना सम्पन्न भएका छन् । दुवै अनुदानबाट कूल ६५ योजना रहेकोमा कार्यान्वयनमा ५६ योजना मध्य निर्माण सम्पन्न ४५ वटा भएको र ९ वटा सम्पन्न हुन नसकेको कार्यालय प्रमुख देवकोटाले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button