तपाईँ सुन्दै हुनुहुन्छः

ऐलानी जग्गाको विषयमा दुई पक्षबीच विवाद हुँदा झडप , ११ जना घाइते

भद्रपुर, झापा । झापाको बाह्रदशीमा ऐलानी जग्गाको विषयमा दुई पक्षबीच विवाद हुँदा झडप भएको छ । झडपमा परी दुवै पक्षका ११ जना घाइते भएका छन् ।

आज दिउँसो बाह्रदशी गाउँपालिका–३ स्थित राधानगरमा सोही ठाउँका पर्शुराम साह र रेखानन्द साहबीच जग्गाको विषयमा विवाद भएको थियो । विवादको क्रममा दुवै पक्ष बाँस, लाठी र घरेलु हतियारसहित झडपमा उत्रिएका थिए ।

रेखानन्द साहले खेती जोताउन ट्याक्टर ल्याएपछि पर्शुराम साहले रोक्न खोज्दा दुवै पक्षबीच झडप भएको थियो ।

झडपमा परी बाह्रदशी–३ का ३० वर्षीय अजयकुमार साह, सोही ठाउँका ४० वर्षीय नितानन्द साह, ४० वर्षीय रेखानन्द साह, ३६ वर्षीया चाँदनी साह, ५६ वर्षीया पद्मादेवी साह, ८० वर्षीय विष्णुप्रसाद साह, २२ वर्षीय महानन्द साह, ५४ वर्षीया पर्शुराम साह र उनका १६ वर्षीय छोरा सञ्जीव साह, १७ वर्षीय विवेक साह र ५४ वर्षीया मुनाखरी साह घाइते भएका छन् । उनीहरूको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनीहरूको अवस्थामा सामान्य रहेको बताइएको छ ।

ऐलानी जग्गाको विषयमा पहिलेदेखि नै दुवै साह परिवारबीच विवाद भइरहेको थियो । दुवै पक्षलाई आजै छलफलका लागि इलाका प्रहरी कार्यालय राजगढमा बोलाइएको भए पनि उनीहरू छलफलमा नआई झडपमा उत्रिएको इलाका प्रहरी कार्यालय राजगढका प्रहरी नायव निरीक्षक राजेन्द्र शर्माले जानकारी दिनुभयो ।

उहाँले झडपलाई साम्य बनाई घाइतेहरूलाई उपचारका लागि एम्बुलेन्समा हालेर बिर्तामोड पठाइको जानकारी दिनुभयो ।

उनीहरू बीचको जग्गाको विवादलाई धेरै पटक मिलाउन प्रयास गरिएको थियो । जग्गाको विषयमा झापा जिल्ला अदालतमा मुद्दा पनि चलिरहेको जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button