तपाईँ सुन्दै हुनुहुन्छः

‘सबै उद्योग व्यवसायीहरूले कानूनअनुसार तिर्नुपर्ने विद्युत् महशुल तिर्नुपर्छ’

काठमाडौँ । सार्वजनिक लेखा समितिको आज बसेको बैठकमा सांसदहरुले सबै उद्योग व्यवसायीहरूले कानून अनुसार तिर्नुपर्ने विद्युत् महशुल तिर्नुपर्ने बताउनुभएको छ ।

समस्यालाई अतिरञ्जित गरी व्यवसायीहरूको मानमर्दन गर्न नहुनेमा जोड दिनुहुँदै सांसदहरूले विवाद समाधानका लागि गठन भएका विभिन्न आयोगहरूको सुझाव र अदालतको निर्णयअनुसार उद्योगी व्यवसायीहरूले महशुल तिर्नुपर्ने बताउनुभयो ।

नेपाल विद्युत् प्राधिकरण र उद्योगी व्यवसायीहरू बीचको डेडिकेटेड ट्रंकलाईन विद्युत् महसुल विवादबारे छलफल गर्न बसेको बैठकमा सांसदहरुले विद्युत् प्राधिकरण र व्यवसायीहरू बीचको विवाद बढ्दै जाँदा सरकार र व्यवसायीहरू बीच नै विश्वासको संकट देखिन थालेकाले हस्तक्षेपकारी भूमिका निर्वाह गरेर भए पनि समस्याको समाधान गर्नैपर्ने धारणा राख्नुभयो ।

बैठकमा सहभागी उद्योगपतिहरू पशुपति मुरार्का, अन्जान श्रेष्ठलगायतले विद्युत् प्राधिकरणले पठाएको बिल अनुसारको महसुल सबै उद्योगी व्यवसायीहरूले नियमित रुपमा तिर्दे आएको भए पनि प्राधिकरणले विद्युत् खपत गरेको भरपर्दो प्रमाण र बिल विना थप शुल्क तिर्न पत्राचार गरेपछि विवाद सुरु भएको बताउनुभयो ।

उद्योग व्यवसायीहरूले कानून अनुसार तिर्नुपर्ने महशुल तिर्न आफूहरू तयार रहेको तर नलिएको सुविधा बापतको शुल्क भने तिर्न नसक्ने अडान राख्नुभयो ।
नेपाल विद्युत् प्राधिकरणले विगतमा नियमित लोडसेडिङ भएको समयमा उद्योगी व्यवसायीहरूलाई अतिरिक्त महशुल लिनेगरी डेडिकेटेड ट्रंकलाइनमार्फत् नियमित विद्युत् उपलब्ध गराएको भन्दै सो अवधिको अतिरिक्त शुल्क माग गरेको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button