तपाईँ सुन्दै हुनुहुन्छः

कटौती भएको प्राविधिक सचिवको पद थप गर्न मन्त्रीसमक्ष माग

काठमाडौँ । विभिन्न मन्त्रालयमा कार्यरत प्राविधिक सहसचिवहरूले कटौती भएको प्राविधिक सचिवको पद थप गर्न माग गरेका छन् ।

प्राविधिक समूहका सहसचिवहरूले आज ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्कालाई भेटेर प्राविधिक सचिवको पद कटौती हुँदा वृत्ति विकासको अवसरबाट वञ्चित हुनुपरेको भन्दै प्राविधिक सचिवको पद थपका लागि पहल गरिदिन आग्रह गरेका हुन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्राविधिक सहसचिव मधुप्रसाद भेटवालले शान्ति तथा पुनःनिर्माण मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको इञ्जिनियरिङ सेवाको सचिव पद कटौती हुँदा निजामती सेवामा प्राविधिक जनशक्तिका लागि वृत्तिविकासमा असर पर्न गएको बताउनुभयो ।

उहाँले सरकारले घोषणा गरेको विकास र समृद्धिको नारालाई यथार्थमा परिणत गर्न प्राविधिक जनशक्तिको भूमिका महत्वपूर्ण भएकाले प्राविधिक क्षेत्रको विज्ञता आवश्यक रहेका क्षेत्रमा सम्बन्धित विषयको विज्ञ जनशक्तिलाई परिचालन गर्न आग्रहसमेत गर्नुभयो ।

भेटमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री खड्काले प्राविधिक क्षेत्रका सहसचिवको समस्यालाई आफूले बुझेकाले यसको समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

“विषयमा अनुभवी व्यक्तिले सम्बन्धित मन्त्रालयको नेतृत्व गरोस् भन्ने मेरो चाहना हो, तपाईँहरूको समस्याका बारेमा म प्रधानमन्त्रीसँग कुरा राख्छु,” मन्त्री खड्काले भन्नुभयो । उहाँले कर्मचारीले जति धेरै काम गर्‍यो त्यति सरकार सफल हुने भएकाले काममा ध्यान दिनसमेत आग्रह गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button